नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रूपन्देहीले एसइई परीक्षामा रूपन्देहीबाट उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ।
अनेरास्ववियूले एसइई परीक्षामा ४ जिपिए ल्याउने ८८ जना र सामुदायिक विद्यालयबाट ए प्लस ल्याउने २ हजार ४ सय ९ गरी २ हजार ४ सय ९५ विद्यार्थीलाई सम्मान गरेको हो।
त्यस्तै, विद्यार्थीहरूलाई उत्कृष्ट अङ्कसहित एसइई उत्तीर्ण गराउन सफल रूपन्देहीका १ सय ७० वटा विद्यालयलाई पनि सम्मान गरेको हो।
आइतबार बुटवलमा आयोजित कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विद्यार्थी र विद्यालयहरूलाई सम्मान पत्र प्रदान गरेका हुन्।
सो अवसरमा बोल्दै पौडेलले सकारात्मक सोचका साथ देशमै अध्ययन गरी राजनीतिमा आउन विद्यार्थीलाई आग्रह गरे।
‘अहिले समाजमा नकारात्मकता र निराशा फैलाउने काम भइरहेको छ, त्यस्ता विकारयुक्त मानसिकताबाट टाढा बसेर स्वदेशमै अध्ययन गर्ने र आफ्नै जन्मभूमिलाई कर्मभूमि बनाउन सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गर्छु,’ पौडेलले भने।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले अरूको कुरा सुन्ने र भावनामा बगेर विदेश नगई आफ्नै विवेक प्रयोग गर्दै देशमै सम्भावना खोज्न आग्रह गरे।
नेपालमा भविष्य छैन भन्ने कुरा सत्य नभएको भन्दै उनले राजनीतिलाई गाली नगरी देशको माटो बुझेका क्षमतावान् विद्यार्थीहरू राजनीतिमा आउनुपर्ने बताए।
‘देशको नीति बनाउन राजनीति चाहिन्छ, राजनीतिलाई गाली गर्ने होइन क्षमतावान् विद्यार्थीहरू राजनीतिमा आएर देशको नेतृत्व गर्ने ठाउँमा पुग्नुहोस्,’ उनले भने।
अर्थमन्त्री पौडेलले सरकारले शैक्षिक विकास र सुधारका लागि निरन्तर काम गरिरहेको बताए।
उनले ज्ञान, विवेक, प्रविधि, साधन स्रोत प्रयोग गरेर देशलाई समृद्ध बनाउन युवा विद्यार्थीहरूलाई आग्रह गरे।
कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडेरियाले आफ्नो रूचिको विषय अध्ययन गरी नेपालले मात्र होइन विश्वले गर्व गर्न सक्ने क्षमतावान् बन्न आग्रह गरे।