नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीभित्रका नेताहरू कसैलाई काखा कसैलाई पाखा गर्न नहुने बताएका छन्।
आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले विभिन्न मुद्दा लागेका कसैलाई पहिले नै बचाउने र कसैलाई भने छाडिदिने गर्न नहुने बताएका हुन्। उनले यसो भन्दै गर्दा केन्द्रीय सदस्यद्वय बालकृष्ण खाण र मोहनबहादुर बस्नेतको नाम पनि लिएका थिए। खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा सात महिना कारागार बसेर अदालतको आदेशपछि धरौटीमा छुटेका हुन् भने बस्नेत टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर अदालतबाट धरौटीमा छुटेका हुन्।
‘कसैलाई काखा, कसैलाई पाखा गर्न भएन। कसैलाई पहिले नै बचाउने र कसैलाई छाडिदिने पनि गर्न भएन,’ उनले भने, ‘माओवादीले आफ्ना मानिसलाई बचाएको छ, दोषी ठहर भइसकेका मानिसलाई बचायो। एमालेले पनि बचाइराखेको छ। हाम्रो खुमबहादुर खड्कादेखि विजयकुमार गच्छदारलाई मुद्दा लाग्यो। चिरञ्जीवि वाग्लेलाई मुद्दा लाग्यो। अरूले जोगाएका छन् हामीले हाम्रो साथीहरूलाई जोगाउन किन सकेनौं?’ उनले प्रश्न गरे।
उनले सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै सबैलाई समान रूपमा व्यवहार गर्न आग्रह गरेका थिए।
उनले २०७४ सालको चुनावको प्रसंग निकाल्दै कांग्रेसी मतदाताले सूर्यमा मत दिएर आफूलाई हराएकोसमेत दाबी गरेका थिए। त्यसबेला एमालेलाई मत दिनेहरूमाथि पार्टीले अनुशासन कारबाही गर्न नसकेको उनको भनाइ थियो।
उनले २०७९ को चुनावमा धनराज गुरूङलाई छाडेर आफू समानुपातिकमा बसेको पनि बताए।
उनले कांग्रेसको भोट घट्दै गइरहेको पनि बताए।
‘महामन्त्री गगन थापाजीले भन्दै हुनुहुन्छ- सक्रिय सदस्यहरूले नवीकरण गरिरहेका छैनन्, कांग्रेसको भोटको अवस्था के हुने हो सभापतिजी?’ उनको प्रश्न छ, ‘के कारणले हामीले हाम्रो बर्चश्व कायम राख्न सकेनौं?’