नेपाली कांग्रेसले यसपालि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण (लाइभ) गरेन।
कांग्रेसले सभापति शेरबहादुर देउवाको चाहनाअनुसार केन्द्रीय समिति बैठक पार्टीको आधिकारिक फेसबुक पेज र युटुवमा लाइभ गर्ने गरेको थियो।
पार्टीभित्र मसिना कुराहरूमाथि पनि छलफल हुने र आन्तरिक रणनीतिका कुरा पनि उठ्ने भन्दै कतिपय केन्द्रीय सदस्यहरूले केन्द्रीय समिति बैठक लाइभ नगर्न विगतमा सभापति देउवाको ध्यानाकर्षणसमेत गराएका थिए।
९ महिनापछि केन्द्रीय समिति बैठक बसे पनि कांग्रेसले लाइभ गरेन। गत असार १६ देखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्यो, बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणा सञ्चारमाध्यमहरूमा हुबहु आए।
यसपछि सभापति देउवाले केन्द्रीय समिति बैठक लाइभ गरेको भए पनि हुने बताएका छन्।
‘केन्द्रीय समिति बैठक लाइभ गरेको भए पनि हुने रहेछ, आखिर यहाँ बोलेको सबै कुरा सञ्चार माध्यमहरूमा आइहाल्यो,’ सभापति देउवाले केन्द्रीय समिति बैठकमै भने।
कांग्रेसले पहिलो पटक २०८० साउन २ गते केन्द्रीय समिति बैठक लाइभ गरेको थियो।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले केन्द्रीय समिति बैठक धेरै दिनसम्म चल्ने देखिएकोले यसपालि लाइभ नगरिएको बताए।
‘सभापतिज्यूले त लाइभ गरेको भए पनि हुन्थ्यो भन्नुभएको थियो,’ उनले भने, ‘बैठकमा स-साना विषय उठ्ने र धेरै दिनसम्म बैठक चल्ने भएका कारण व्यवहारिक हुन्न कि भनेर यसपालि लाइभ गरिएन। छोटो केन्द्रीय समिति बैठक लाइभ हुन्छ।’
कांग्रेसले विगतमा केन्द्रीय समिति बैठक लाइभ गर्दा तीन वटा क्यामेराले खिचेको थियो भने ८ जना जनशक्ति त्यस काममा परिचालन भएका थिए।
बैठक लाइभ गर्दा दैनिक करिब एक लाख रुपैयाँ खर्च हुने कांग्रेसले जनाएको छ।
केन्द्रीय समिति बैठक आज सक्ने तयारीमा कांग्रेस छ।
प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार सोमबार २ बजे बस्ने गरी स्थगित केन्द्रीय समिति बैठक अपराह्न ३:३० बजेसम्मका लागि सारिएको छ।
प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएकोले केन्द्रीय समिति बैठक केही समय पर धकेलिएको पनि उनले जानकारी दिए। केन्द्रीय समितिमा केही सहमहामन्त्री, महामन्त्रीहरू, उपसभापतिहरू र सभापतिले धारणा राख्न बाँकी छ।