नेपाली कांग्रेसले रसुवाको भोटेकोशीमा बाढीले जनधनको क्षति गरेको भन्दै उद्धार र राहतमा युद्धस्तरमा लाग्न अपिल गरेको छ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतीले हामी सबैलाई दुःखीत र गम्भीर बनाएको छ। ३ प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ।’
नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको उल्लेख गर्दै कांग्रेसले 'यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’ भन्ने उल्लेख गरेको छ।
वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गर्दै, स्मरण गराउँदै कांग्रेसले एक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तीनै तहको सरकारलाई आग्रह गरेको छ।
नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि कांग्रेसले सार्वजनिक अपिल गरेको छ।
साथै सभापति शेरबहादुर देउवाले रसुवाको भोटेकोशी लगायत क्षेत्रमा आएको बाढीको क्षतिप्रति गरिहो दु:ख व्यक्त गरेका छन्।
देउवाले सामाजिक सञ्जालमार्फत रसुवा कांग्रेसका नेता तथा कार्यकर्ता लगायत सबैलाई उद्धार र राहतमा खटिन पनि अपिल गरेका छन्।
‘रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध गर्दछु। साथै नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता लगायत सबैलाई उद्धार र राहतमा जुट्न अपिल गर्दछु,’ सभापति देउवाको भनाइ छ।