राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा नयाँ विवाद देखा परेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्ता सगुनसुन्दर लावती र अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलाई हटाएपछि पार्टीभित्र असन्तुष्टि देखा परेको हो।
असार २५ गते अध्यक्ष लिङ्देनले लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए भने सोही दिन अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए।
यसअघि राप्रपा अनुशासन समिति अध्यक्ष नवराज सुवेदी थिए।
सुवेदीले चैत ४ गते ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेका थिए। उक्त समितिको संयोजक सुवेदी नै बसे।
उनले आफू संयोजक घोषणा गर्दा राप्रपाको साधारण सदस्य पनि नरहेको घोषणा गरेका थिए। उक्त अभियानमा राप्रपा प्रवक्ता लावती पनि सक्रिय थिए।
त्यसैले राप्रपा अध्यक्ष लिङ्देनले लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए भने सुवेदीको ठाउँमा अनुशासन समिति अध्यक्षमा कार्कीलाई मनोनीत गरेका थिए।
तर अध्यक्ष लिङ्देनको यो निर्णय विधानसम्मत नभएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ।
महामन्त्री धवल शम्शेर राणासहितले अध्यक्ष लिङ्देनको निर्णय विधानविपरीत भएको उल्लेख गरेका छन्। उनीहरूले शनिबार काठमाडौंमा भेलासमेत गरेका थिए।
उक्त भेलाले अध्यक्ष लिङ्देनको निर्णय विधानविपरीत रहेको भन्दै निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।
आफूहरू आज निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराउने महामन्त्री राणाले सेतोपाटीलाई जानकारी दिए।
‘हामी आज निर्वाचन आयोग जाँदैछौं, थप विषय त्यही राख्छौं,’ उनले भने।
प्रवक्ताबाट पदमुक्त गरिएका लावतीले पनि बिहान ११ बजेपछि निर्वाचन आयोग जाने कार्यक्रम रहेको बताए।
‘पार्टी प्रक्रिया र विधानअनुसार चल्नुपर्यो भन्ने हाम्रो भनाइ हो,’ उनले भने। पार्टीका असन्तुष्ट पक्षले केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने विषय पनि अध्यक्ष लिङ्देनले एकल निर्णयबाट गर्ने गरेको बताएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षले उपाध्यक्षलगायत पदहरू विधानअनुसार मनोनीत गर्न सक्ने बताए।
‘हिजोअस्ति गुट बनाएर, थर्काएर, अध्यक्षलाई घेराबन्दी गरेर हिँड्ने, मैले गल्ती गरेको छु भने महाधिवेशनमा हराइदिने हो अहिले अल्झाउने होइन,’ लिङ्देनले शनिबार आयोजित एक कार्यक्रममा भने, ‘महाधिवेशनले मलाई म्यान्डेट दिएको छ, अहिले काममा सघाउने हो। अध्यक्षले मनोनीत गर्ने भनेर विधानमै भएका मानिसहरू चाहे उपाध्यक्ष हुन्, महामन्त्री हुन्, अध्यक्षको सहयोगको लागि हो। अध्यक्षलाई अल्झाउन, बदनाम गर्न, नभएको कुरा सञ्चार माध्यममा लेख्न र लेखाउन बनाइएको होइन।’
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नवराज सुवेदीलाई लक्ष्य गर्दै पार्टी परित्याग गरेकाले लोकलाजको ख्याल गर्नुपर्ने बताएका छन्।
‘नवराज सुवेदी बा, सार्वजनिक रुपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको तपाईं राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ रे। लोकलाजको ख्याल गर्नुस्, जीवनको उत्तरार्द्धमा इमान नछाड्नोस्। तपाईं राप्रपामा फेरि सक्रिय हुन सक्नुहुन्छ तर बाटो त्यता होइन है,’ उनले भने।
राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा पनि सुवेदी नेतृत्वमा सुरूमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव र महामन्त्री धवल शम्शेर राणा आन्दोलन परिचालन समिति हेर्ने गरी जिम्मेवारीमा गएका थिए।
त्यसपछि पार्टीभित्र असन्तुष्टि बढेको थियो।
पछि राप्रपा संस्थागत रूपमै सुवेदी नेतृत्वमा असार १५ गतेदेखि 'अनिश्चितकालीन जनआन्दोलन' मा होमिएको थियो। तर उक्त आन्दोलन अहिले अघि बढ्न सकेको छैन।
त्यसअघि गत माघमा भएको राप्रपा केन्द्रीय समिति बैठकमा महामन्त्री राणाले अध्यक्ष लिङ्देनका कार्यशैलीमाथि प्रश्नैप्रश्न उठाएका थिए भने 'प्रचण्ड नेतृत्वको सरकारमा जाँदा पार्टी ओरालो लागेको' भन्दै बेग्लै राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
यो पनि: धवल शमशेरको प्रतिवेदन- प्रचण्ड नेतृत्वको सरकारमा जाँदा ओरालो लाग्यो राप्रपा