धरानका मेयर हर्क साम्पाङको अगुवाइमा सुरू भएको सुम्निमा पारूहाङ प्रतिमा निर्माणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो देखाएको छ।
अख्तियारले सुम्निमा पारूहाङ प्रतिष्ठान सम्बन्धी सबै वित्तीय तथा संस्थागत कागजात आयोगमा पेस गर्न धरान उपमहानगरलाई पत्राचार गरेको छ।
मंसिर १४ को मितिमा अख्तियारले पठाएको पत्रमा सुम्निमा पारूहाङ प्रतिष्ठानमा रकम अपचलन भएको उजुरी दर्ता भएको उल्लेख गर्दै कागजात मागेको हो।
अख्तियारले पत्राचार गर्ने गरी परेको उजुरीमा मेयर साम्पाङ र केही कर्मचारीको मिलेमतोमा प्रतिष्ठान दर्ता भएको, स्थानीय तह कार्यपालिकाको नेतृत्वमा बसेका व्यक्तिले आफ्नै अध्यक्षतामा प्रतिष्ठान दर्ता गरेको आरोप छ।
त्यस्तै उजुरीमा प्रतिष्ठानमा आएको रकम कहाँबाट आयो, कसरी खर्च भयो, कसैका नाममा हस्तान्तरण भयो भन्ने प्रश्न पनि उठाइएको छ।
अख्तियारले १५ दिनभित्र प्रतिष्ठानको दर्ता प्रमाण–पत्र, दर्ता मिति, कुन कानुन अन्तर्गत दर्ता भएको हो, कोको पदाधिकारी छन्, संस्थाको विधान र नियमावली, संस्थाको उद्देश्य, सदस्यता र संरचना, आर्थिक व्यवस्थापन कसरी गरिएको छ, निर्णय प्रक्रिया के हो भन्ने लगायतका कागजात पेस गर्न भनेको छ।
अख्तियारको पत्र प्राप्त भएपछि मेयर साम्पाङले असन्तोष जनाएका छन्। फेसबुकमार्फत अख्तियारतिर निशाना साँध्दै उनले सरकारले नबनाएपछि आफै अघि सर्नुपरेको बताएका छन्।