नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर पुर्याउने भएको छ।
महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम पार्टीका तल्ला निकायहरूमा पठाउने निर्णय भएको हो।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले दुई दिनभित्रै नयाँ क्रियाशील फारम पार्टीका तल्ला तहमा पठाइसकिन्छ।
कांग्रेसले यसअघि क्रियाशील सदस्यता नवीकरण सुरू गरे पनि नयाँ क्रियाशील वितरण गरेको थिएन। कांग्रेसमा करिब ९ लाख क्रियाशील सदस्य छन् भने वडा तहमा अहिलेसम्म ६ लाख जनाले नवीकरण गरेको अवस्था छ।
महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिएपछि क्रियाशील सदस्यता वितरणलाई कांग्रेसले तीव्रता दिन लागेको हो।
यो समितिले देशभर क्रियाशील नवीकरणको अवस्थाबारे पनि जानकारी लिने भएको छ।
उनकाअनुसार शुक्रबार सबै भ्रातृ संस्थाका पदाधिकारीहरूसँग केन्द्रीय कार्यालय सानेपामा छलफल गर्ने कार्यक्रम छ।
मंसिर १५ गते केन्द्रीय समिति बैठक गरेर कांग्रेसले वडादेखि केन्द्रसम्म ७ तहको अधिवेशन कार्यतालिका ल्याएको थियो।
जसअनुसार केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण मंसिर २० गतेभित्र गरिसक्न समय दिइएको छ भने प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम मंसिर २४ गतेभित्र पठाइसक्नुपर्छ।
कांग्रेसले पुस १४ गते क्रियाशील सदस्यता सूची तयार पारेर सभापति र कार्यवाहक सभापतिलाई बुझाउने तथा निर्वाचन समितिलाई पेस गर्ने तयारी गरेको छ।