प्रधानमन्त्री केपी शर्मा ओलीले ७८ लाख घुस डिल अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बालुवाटारबा बोलाएर सोधपुछ गरेका छन्।
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई सोमबार बिहान पौन ११ बजे बालुवाटार बोलाएर करिब आधा घन्टा सोधपुछ गरेको भए पनि उनका सन्दर्भमा कुनै निर्णय नलिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री स्रोतका अनुसार प्रधानमन्त्री यसबारेमा छलफलमै छन्।
मन्त्री गुप्तालाई बोलाएर छलफल गरेलगत्तै प्रधानमन्त्री विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। आजै साँझ मन्त्रिपरिषद बैठक र त्यसपछि तीन दल (नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूको बैठक राखेका छन्।
प्रधानमन्त्री ओली मन्त्रिपरिषद् हेरफेरको तयारीमा रहेको पनि बालुवाटार स्रोतको दाबी छ। त्यही हेरफेरमा हटाउने कि अहिले नै राजीनामा दिन लगाउनेबारे प्रधानमन्त्रीले निर्णय लिइनसकेको स्रोतले बतायो।
‘हेरफेरमा हटाउने कि भन्ने पनि छ। मन्त्रीसँग छलफल लगत्तै प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएकाले कुराकानीबारे प्रधानमन्त्रीले बताइसक्नुभएको छैन,’ स्रोतले भन्यो।
यसबारे बुझन् हामीले मन्त्री राजकुमार गुप्तालाई पनि सोध्यौं। उनले प्रधानमन्त्रीले आफूलाई बोलाउँदै नबोलाएको जिकिर गरिरहे। प्रधानमन्त्रीले बोलाउँदा आफू १२ बजे राति पनि बालुवाटार जाने बताउँदै आज भने कुनै खबर नआएको बताए।
‘मलाई बोलाएकै छैन। प्रधानमन्त्रीले त जतिबेला पनि बोलाउन सक्नुहुन्छ नि, उहाँले बोलाएपछि नजाने कुरा भएन। तर आज कुनै खबर आएको छैन,’ उनले दाबी गरे।
उनले आफू केही बेरअघिसम्म मन्त्रालय रहेको र अहिले खाना खान निवास (मन्त्री क्वार्टर) आएको पनि बताए।
मन्त्री गुप्ताले भने आफ्नो आवाज परीक्षणका लागि तयार रहेको तथा पैसा आफ्नो र मन्त्रालय दुवैको खातामा नआएको दाबी गर्दै आएका छन्।
‘मलाई ७८ लाख घुस दिइयो भनिएको छ तर कसले दियो मलाई ७८ लाख पैसा?,’ मन्त्री गुप्ताले सेतोपाटीसँग भने।