नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद प्रतिमा गौतमले अपराध गर्नेहरूले हस्ताक्षर अभियान सञ्चालन गर्ने देखिएको बताएकी छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अपराधमा संलग्न हुनेहरूले अदालतलाई आफू अनुकूल प्रभाव पार्ने गरी हस्ताक्षर गर्दै हिँड्ने अवस्था देखिएको बताएकी हुन्।
‘अब त कुनै अपराध गन्यो अनि ठगी बेइमानी, चोरी वा अन्य अपराधमा संलग्न हुनेहरूले पनि सम्मानित अदालतलाई आफ्नो अनुकूल प्रभाव पार्ने गरी हस्ताक्षर गर्दै हिँड्ने अवस्था देखियो। यो त योजनाबद्ध ढंगबाट गरिएका नक्कली अभियान हो सभामुख महोदय, अब प्रश्न उठ्नैपर्छ रास्वपाको एजेण्डा के हो? जनताको सेवा? नाटक, षडयन्त्र या चन्दा संकलन?,’ उनले प्रश्न गरिन्।
रास्वपाले सभापति रवि लामिछानेमाथि 'राजनीतिक प्रतिशोध' भएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। त्यसप्रति लक्ष्य गर्दै सांसद गौतमले रास्वपाको एजेन्डा के हो भनेर प्रश्न गरेकी छन्।
उनले राजनीति अब नीति र सिद्धान्तको नभई नाटक र नक्लीपनको अखडा बनेको पनि बताइन्।
‘जहाँ आँशु, आरोप र अभिनय सबै तयार गर्ने, नाटकको निर्देशक नै सांसद छन्। त्यो सबै नाटकको सेटपछि जेल भित्रबाट हस्ताक्षर संकलनका नाममा क्युआर कोड पठाएर द्रव्य उठाउने नयाँ राजनितिक नवविचार यो के हो? राजनीतिकी रियिलिटि सो सस्तो लोकप्रियताको लोभमा कोठाभित्र स्कृप्ट लेखेर कोठा बाहिर क्रान्तिको दाबा गर्नेहरूले अब लोकतन्त्रको नैतिकता र जनताको भरोसा दुबै माथि खेलबाड गरेका छन्,’ उनले भनिन्।
फरक प्रसंगमा उनले यसपालि धेरै वर्षा हुने अनुमान भएको र २० लाख मानिस प्रभावित हुने भनिए पनि सरकारको गम्भीर्यता नदेखिएको पनि बताइन्।
वर्नेनी मलको हाहाकार, गुणस्तरीय वीऊको अभाव, बजारको अनिश्चतामा अल्झनु परेको पनि उनले बताइन्।