पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधान अनुसार संसद विघटन सदर गरेको बताएकी छन्।
कसैको दबाबले भन्दा पनि आफूले संविधानले गरेको व्यवस्था अनुसार दुईपटक संसद विघटन सदर गरेको बताएकी हुन्।
मदन भण्डारी फाउण्डेसनले मंगलबार अनामनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासाको उत्तर दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने कुराबारे जानकार रहेको समेत बताएकी छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको सिफारिस अनुसार २०७७ पुस ५ मा पहिलोपटक र २०७८ जेठ ७ मा दोस्रोपटक प्रतिनिधिसभा विघटन भएको थियो।
ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्दा तत्कालै सदर गरेको भन्दै त्यसबेलाकी राष्ट्रपति भण्डारीको ठूलो आलोचना भएको थियो। यद्यपि संसद्को ती दुवै विघटन सर्वोच्च अदालतले बदर गरेको थियो।
मंगलबार सोही विषयमा पत्रकारहरूले उनलाई सोधेका थिए।
‘संसद विघटन विगतको कुरा हो, यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकारै छु,’ उनले भनिन्, ‘२०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ, पछि २०५१ मा पनि विघटन भएको छ त्यो पनि आइरहन्छ। म राष्ट्रपति भएको बेलामा पनि दुईचोटि संसद विघटन भएको छ, त्यो आइरहन्छ, तर त्यसलाई मैले कुनै दबाबभन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको हो, जे व्यवस्था छ त्यही गरेको हो।’
भण्डारीले आफूले कुनै दबाबमा परेर विघटन सदर नगरेको बताएकी छन्।
‘तपाईंहरू छलफलमा भाग लिन चाहनुहुन्छ भने त्यसको संवैधानिक, राजनीतिक र इतिहासका कुराहरू र देशलाई के गरी निकास दिनुपथ्र्यो कुन बेला के काम गर्नुपर्छ त्यो कुराहरू छलफलको विषय हुनसक्छ,’ उनले भनिन्।
संविधानको व्यवस्था अनुसार मन्त्रिपरिषदले निर्णय गरेर आएको र त्यसलाई आफूले कार्यान्वयन गरेको भण्डारीको भनाइ थियो।