नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने बताएका छन्।
सहमति जुटाउने भन्दै प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक रोकिएको छ।
महरले नेपाल शिक्षक महासंघसँग भएको सहमतिअनुसार विद्यालय शिक्षा विधेयक तत्काल पारित गरिनुपर्ने बताएका हुन्।
‘गुणस्तरीय शिक्षाका लागि महाअभियान’ तथा ‘जीवनलाई स्वागत, लागुऔषधलाई निषेध’ भन्ने मूल नारासहित नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रव्यापी शैक्षिक साङ्गितिक यात्रा २०८२’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै महरले उक्त माग राखेका हुन्।
‘सरकारले शिक्षक महासंघसँग सम्झौताको मसी सुक्न नपाउँदै त्यसबाट पछि हट्न खोज्नु दुर्भाग्यपूर्ण र शैक्षिक क्षेत्रप्रतिको गैरजिम्मेवारपन हो,’ उनले भने, ‘अब कुनै बहानाबाजी स्वीकार्य छैन, सहमति बमोजिमको ऐन तत्काल जारी गर्नुपर्छ।’
उनले विद्यालय कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको पेशागत सुरक्षा र सम्मानका लागि पार्टीले सधैं आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।