लुम्बिनी प्रदेशका विकासे मन्त्रालयहरूमध्ये खर्च कार्यान्वयन प्रगति विश्लेषणका आधारमा खानेपानी तथा सहरी विकास मन्त्रालय उत्कृष्ट देखिएको छ।
प्यूठानबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको नेतृत्व गर्दै लुम्बिनी सरकारमा सहभागी नेता सरोज थापा (रोज राणा) नेतृत्वको उक्त मन्त्रालयले प्रदेशका तीन विकासे मन्त्रालयमध्ये खर्च प्रगतिका दृष्टिकोणले सबभन्दा उत्कृष्ट अंक हासिल गरेको छ।
आर्थिक वर्ष २०८१/०८२ को खर्च प्रगतिको विश्लेषण गर्दै प्रदेशको लेखा नियन्त्रक कार्यालयले आफ्नो वेबसाइटमा राखेको विवरण अनुसार खानेपानी तथा सहरी विकास मन्त्रालय ८४.५५ प्रतिशत खर्च कार्यान्वयन गर्न सफल भएको उल्लेख छ। यो प्रतिशत प्रदेशका तीन विकासे मन्त्रालयमध्ये सबभन्दा बढी हो। गत आर्थिक वर्षको मन्त्रालयको विनियोजित कुल बजेट ५ अर्ब ३३ करोड ३७ लाख १३ हजार रुपैयाँमध्ये यो मन्त्रालयले ४ अर्ब ५४ करोड ६९ लाख ६६ हजार खर्च कार्यान्वय गर्न मन्त्रालय सफल भएको देखिन्छ।
विकासे मन्त्रालयमध्ये प्रदेशको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ७७.०७ प्रतिशत र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले ६६.९३ प्रतिशत खर्च कार्यान्वयन गर्न सफल भएको प्रदेशको लेखा नियन्त्रक कार्यालयले उल्लेख गरेको छ।
मन्त्रालय खर्च कार्यान्वयनमा उत्कृष्ट बनेपछि मन्त्री थापाले विनियोजित बजेटको सफल कार्यान्वयनका लागि आफूले निरन्तर कर्मचारीलाई झकझक्याउनुका साथै आपसमा समन्वय गरी काम गरेको हुँदा सुखद प्रतिफल निस्किएको बताए।
आफूले मन्त्रालयका सबै कर्मचारी साथ र सहयोग पाएको हुँदा आफ्नो मन्त्रालय खर्च कार्यान्वयनमा उत्कृष्ट हुन सफल भएको मन्त्री थापाले बताए।
‘मन्त्रालयका सचिव, महाशाखाका प्रमुखहरू र फिल्डमा खटिने विभिन्न कर्मचारीसँगको सहयोग तथा समन्वयले यो सफलता मिलेको हो,’ उनले भने, ‘बजेट विनियोजनपछि आफै संयन्त्रले काम गरिहाल्छ भन्नुभन्दा पनि मन्त्री आफैले पनि त्यसमा चासो राखिरहे परिणाम उत्कृष्ट आउँदो रहेछ।’
मन्त्री भएको सुरूदेखि नै काम गरेर देखाएपछि मात्रै आमनागरिकले विश्वास गर्छन् भन्ने ठानेर आफूले सुरूदेखि नै कर्मचारीसँग निरन्तर सल्लाह लिएको, कर्मचारीलाई बजेट कार्यान्वयन सफल तुल्याउन व्यक्तिगत रूपमा ऊर्जा थप्ने काम गरेको मन्त्री थापाले बताए।
लुम्बिनीमा मन्त्री थापाकै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी छ।