नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले १० औं राष्ट्रिय महाधिवेशनबाट पारित विधानबारे भ्रामक प्रचार शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकले खारेज गरेको बताएका छन्। उक्त विवादका सन्दर्भमा यस पोलिटब्युरो बैठकलाई ‘कट अफ बैठक’ का रूपमा लिने र अब सिंगो पार्टी भावनात्मक एकताका साथ अगाडि बढ्ने संकल्प पनि बैठकले गरेको उनले बताएका छन्।
‘नेकपा ( एमाले) पोलिटब्युरोको चौथो बैठक आज सफलतापूर्वक र उत्साहका साथ सम्पन्न भएको छ। बैठकमा बोल्ने ६६ जना कमरेडहरूले केन्द्रीय सचिवालयबाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई आधारभूत रूपमा समर्थन गर्दै विभिन्न विषयमा महत्वपूर्ण सुझाव, टिप्पणी र आफ्ना रायसमेत प्रस्तुत गर्नुभएको छ। बैठकमा अध्यक्ष कमरेडले पार्टी जीवनको लोकतान्त्रीकरणलाई सुविधा अनुसार खास बुँदामा होइन, समष्टिमा बुझ्नु पर्ने बताउनु भएको छ,’ बैठकलगत्तै उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्।
अध्यक्ष ओलीले पार्टीको सुदृढ एकता र त्यसको बलमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्नु आफ्नो एकमात्र उद्देश्य रहेको बताएको ज्ञवालीको भनाइ छ।
‘विधान महाधिवेशन र दसौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानका बारेमा केही सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा विगत केही दिनदेखि भइरहेको भ्रामक प्रचारलाई बैठकले खारेज गरेको छ। यस बैठकलाई कट अफ बैठकका रूपमा लिने र अब सिंगो पार्टी भावनात्मक एकताका साथ अगाडि बढ्ने संकल्प पनि बैठकले गरेको छ,’ ज्ञवालीले भने।
एमाले पोलिटब्युरो बैठकमा प्रथम विधान महाधिवेशनबाट पारित भएको दुई कार्यकालको प्रबन्ध दसौं महाधिवेशनपछि विधान छाप्दा हटाइएको विषय उठेको थियो। पोलिटब्युरो बैठकअघि पनि सदस्यहरूले विधानको उक्त प्रावधान छलछामपूर्वक हटाइएको बताउँदै आएका थिए। त्यसबारे अध्यक्ष ओलीले बैठकमा जबाफ दिँदै दसौं महाधिवेशनअघि बसेको केन्द्रीय कमिटी बैठकले हटाएको बताएका थिए।