राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्तिकुमारी शाहीसहित कर्णालीका १६ जना नेताहरूले उपाध्यक्षबाट पदमुक्त गरिएका मुकुन्दश्याम गिरीमाथिको कारबाही फिर्ता लिन माग गर्दै अपिल जारी गरेका छन्।
शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनीत उपाध्यक्ष गिरीलाई पदमुक्त गरेका थिए।
यो पनि: लिङ्देनले किन खोसे राप्रपा नेताहरूको पद?
कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले उपाध्यक्ष गिरीलाई पूर्ववत् अवस्थाकै पदमा फर्काउन माग गर्दै सामूहिक अपिल निकालेका हुन्।
‘राप्रपा स्थापनाकालदेखि अनवरत सक्रिय रहनुभएका कर्णाली प्रदेशका जनप्रिय निष्ठावान नेता उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष एवं केन्द्रीय समिति सदस्यबाट पदमुक्त गरेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ शनिबार जारी गरिएको अपिलमा भनिएको छ, ‘उहाँले पार्टीलाई दिनुभएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः सञ्चालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामूहिक वक्तव्यलाई आधार बनाएरबिना कुनै सूचना र स्पष्टीकरण उहाँलाई विधानविपरीत पदमुक्त गरिँदा कर्णाली प्रदेशका हामी तमाम पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चिन्तित भएका छौं।’
गिरीमाथिको कारबाहीप्रति उनीहरूले असहमति प्रकट गरेका छन्।
‘पार्टीको वृहत्तर हित र पार्टी एकतालाई ध्यानमा राखेर उहाँलाई विधानविपरीत गरिएको कारबाही तत्काल फिर्ता गरी पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापना गर्न केन्द्रीय अध्यक्षज्यूसमक्ष अपिल गर्दछौं,’ अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्ष्य गर्दै उनीहरूले भनेका छन्।
अध्यक्ष लिङ्देनले भने आफूले मनोनीत गरेकाहरूले गुट बनाउँदै असहयोग गरेकोले पदमुक्त गर्नुपरेको अभिव्यक्ति दिने गरेका छन्।
यसअघि अध्यक्ष लिङ्देनले असार २५ गते अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलाई हटाएर उक्त ठाउँमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए भने सोही दिन प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेका थिए।
आफूहरूलाई विधानविपरीत र स्पष्टीकरणको मौकासमेत नदिई अध्यक्ष लिङ्देनले पदमुक्त गरेको भन्दै सुवेदी र लावती पनि निर्वाचन आयोगमा पुगेर उजुरी दिएका थिए।
उपाध्यक्षबाट पदमुक्त गरिएका गिरीले पनि आज निर्वाचन आयोगमा गएर उजुरी दिने तयारी गरेका छन्।
तर केन्द्रीय सदस्य यज्ञबहादुर सिंहले आफ्नो हस्ताक्षर दुरूपयोग गरिएको आरोप लगाएका छन्।
‘म राप्रपा केन्द्रीय सदल्य यज्ञ बहादुर सिंह (जाजरकोट) को हस्ताक्षर दुरूपयोग गरी मेरो सहमति र उपस्थिति बेगर पार्टीको आन्तरिक कुरामा मलाई पक्ष विपक्षमा राख्न गरिएको प्रयासप्रति मेरो ध्यानकर्षण भएको छ। यस्तो गलत क्रियाकलापको म घोर भत्सर्ना गर्दछु, दोषीलाई कार्बाहीको माग गर्दछु,’ आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
गिरीमाथिको कारबाही फिर्ता माग गर्दै अपिल जारी गर्नेहरू;
१. कुन्तिकुमारी शाही, महामन्त्री
२. दिपबहादुर शाही, अध्यक्ष, कर्णाली प्रदेश
३. सत्यबहादुर शाही, केन्द्रीय सदस्य, कालिकोट
4. कालिबहादुर शाही, केन्द्रीय सदस्य, हुम्ला
५. सुनिता शाह, केन्द्रीय सदस्य, सुर्खेत
६. सौरेन्द्रबहादुर शाह, सहायक महामन्त्री, रुकुम पश्चिम
७. यज्ञबहादुर सिंह, केन्द्रीय सदस्य, जाजरकोट
८. जनक सिंह ठकुरी, केन्द्रीय सदस्य, सुर्खेत
९. भीमबहादुर शाही, केन्द्रीय सदस्य, जुम्ला
१०. अनुपम सिं श्रेष्ठ, केन्द्रीय सदस्य, सल्यान
११. दिपक मल्ल, केन्द्रीय सदस्य, रुकुम पश्चिम
१२. दिपक खनाल, केन्द्रीय सदस्य, जाजरकोट
१३. बबिता शाही, केन्द्रीय सदस्य, दैलेख
१४. धनसुर शाही, केन्द्रीय सदस्य, कालिकोट
१५. अमर गिरी, आमन्त्रित केन्द्रीय सदस्य, सल्यान
१६. टीका योगी, अध्यक्ष, सुर्खेत काठमाडौं सम्पर्क समाज।
यस्तो छ अपिल;
