नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडका सन्दर्भमा नेकपा (एमाले) ले राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेर दुर्घटनातर्फ लगे दुई दलबीच समझदारीमा दरार आउने बताएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कर्मचारीका हकमा अवकाश वा राजीनामाको दुई वर्षसम्म संवैधानिक र कूटनीतिक नियुक्ति गर्न नमिल्ने गरी कुलिङ पिरियड राख्ने सहमति भएको थियो।
यो व्यवस्था निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने क्रममा हेरफेर भएको बाहिरिएपछि छानबिन समिति गठन भएर काम अघि बढेको छ।
कुलिङ पिरियड दुई वर्ष राख्ने पूर्वसहमतिअनुसार राष्ट्रिय सभाबाट निजामती सेवा विधेयकमा राख्न राज्य व्यवस्था तथा सुशासन समितिले आग्रहसमेत गरेको थियो।
तर राष्ट्रिय सभामा एमालेका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएपछि कांग्रेस तरंगित भएको छ।
महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो, त्यो विषयको सन्दर्भमा सभामुखमार्फत छानबिन समिति बनेको छ, जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ। सँगै हामीले राज्यव्यवस्था समितिबाट सर्वसम्मत रूपमा अपिल गरेका छौँ, आह्वान गरेका छौँ, राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ। हामी सँगै बस्दैगर्दा सबै त्यो कुरामा सहमत पनि हुने, तर राष्ट्रिय सभामा फरक रूपमा संशोधन प्रस्ताव आइराखेर फेरि त्यसलाई दुर्घटनातर्फ लगियो भने स्वभाविक छ कि दुई वटा दलको हाम्रो जुन समझदारी हो, त्यो समझदारीमा एक ढंगको दरार उत्पन्न गर्छ।’
उनले यो कुरा बसुन्धरामा मंगलबार भएको ४३ औं विपी स्मृति गोष्ठीमा भनेका हुन्।
उनले अहिलेको सरकारको सफलता फरक मतहरूको बीचको साझा मतबाट बन्ने पनि बताए।
‘एउटै दलभित्र पनि दुईवटा, तीनवटा दृष्टिकोणहरू हुन्छन् भने स्वाभाविक छ अहिले दुईवटा दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रतिस्पर्धा पनि छ, सहकार्य पनि छ, फरक मत पनि छ र यसको बीचबाट साझा मतको खोजी गर्नु पनि छ। त्यसैले यो बेलामा प्रधानमन्त्रीलाई यहाँबाट अपिल गर्नुपर्यो। अहिले हामीबीच उत्पन्न हुँदै गरेको समस्या, दुईवटा कुराको सन्दर्भमा हामी फरक मतमा छौँ। यो दुईटै कुराको हल, हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीज्यूले गम्भीरता राख्नुपर्छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)