नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामा तामाङले मधेसमा पानीको समस्या देखिएकोले सरकार गम्भीर हुनुपर्ने बताएकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सिंगो मधेस र विशेष गरी महोत्तरीमा पानीको अभाव देखा परेको बताइन्।
‘महोत्तरी जिल्लामा पानीको चरम अभाव उत्पन्न भएको छ। नागरिकहरू दुई दिनदेखि खानेपानीको जोहो गर्न असफल भइरहेका छन्। ट्याङ्करको भरमा ६५ लाख जनसंख्या भएको मधेस प्रदेशमा सुरक्षित र पर्याप्त पानी पुर्याउने कार्य सम्भव छैन भन्ने यथार्थ सबैलाई विदित छ। जनतालाई झुलाउने होइन, समाधान दिने बेला हो, सरकार मौन रहन मिल्दैन,’ उनले भनिन्।
उनले भारतको उदाहरण दिँदै भनिन्, 'विहार राज्यमा खेती रोकेर भए पनि भूमिगत जलको संरक्षण गर्दै खानेपानीको व्यवस्था गर्न सरकार सक्रिय देखिन्छ। तर हाम्रो सरकार, विशेषतः खानेपानी मन्त्री कता हुनुहुन्छ भन्ने विषयमा जनताले कुनै जबाफ पाएका छैनन्। यस्तो गम्भीर संकटको घडीमा मन्त्रीज्यूको मौनता र अनुपस्थिति दुर्भाग्यपूर्ण छ।'
उनले महोत्तरी जिल्लासहित मधेसका प्रभावित क्षेत्रहरूमा खानेपानी वितरणको व्यवस्था मिलाउन आग्रह गरेकी छन् भने भूमिगत पानीको स्तर दिनप्रतिदिन घटिरहेको स्थितिलाई नियन्त्रण गर्न चुरे संरक्षणसम्बन्धी दीर्घकालीन योजना लागू गर्न माग गरेकी छन्।