नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले गणतन्त्रमा झार पलाएको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
गणतन्त्र त आएको तर झार पलाएर गणतन्त्रका फूलहरू खोज्नुपर्ने भएको उनको भनाइ छ।
हरेक दिन एकताको कुरा गर्ने तर आफैभित्र उकुसमुकुसको स्थिति रहेको उनको भनाइ छ।
कम्युनिष्ट आन्दोलनलाई एकता नै आवश्यक रहेको तर त्यसका लागि निश्चित दृष्टिकोणको जरूरी रहेको उनको भनाइ छ। नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरूका झारपातहरू मौलाएको उनको जिकिर छ।
महासचिव चन्दले भने, ‘हामी हरेक समयमा एकताको कुरा गर्छौं तर हामीभित्र उकुसमुकुस छ। हामीलाई चाहिएको एकता नै हो। हामीलाई चाहिएको मोर्चा नै हो। सहकार्य र सहयात्रा नै हो। त्यसको लागि एउटा निश्चित दृष्टिकोण नै हो। नेपाली समाजको नयाँ व्याख्या जरूरी छ। प्रचण्डहरूले निर्णय गर्नुभएको थियो, यो पहाड भत्काएको हामीले हो। निःशर्त हो। आज पनि भत्काउँछौं। दलालहरूलाई कुन-कुन खाल्डोमा हाल्नुपर्छ भन्ने राम्रोसँग थाहा छ। गणतन्त्रमा झारपात उम्रिएका छन्। गणतन्त्रका फूलहरू हेर्न झारहरू पल्टाएर हेर्नुपर्ने भयो।’
उनले अगाडि भने, ‘नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरूका झारपातहरू मौलाएका छन्। कुन फूल र कुन झारपात नेपाली जनता अल्मलमा परेका छन्। बर्खामा च्याउ उम्रिएका जस्ता झारपात उम्रिएका जस्ता राजनीतिक दलहरू छन्। गणतन्त्रमा बर्खामा उम्रिएका झारपातहरू छन्। गणतन्त्र त आयो तर झारपातले ढाक्यो।’
महासचिव चन्दले निश्चित दृष्टिकोणसहित अघि बढेर कम्युनिष्ट एकतालाई अझ बलियो बनाउनुपर्ने बताए। —न्युज एजेन्सी नेपाल