नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का नेताहरूबीच ढुंगा हानाहान भएको छ।
सो क्रममा अखिल (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्ट घाइते भएका छन्।
यो घटना कञ्चनपुरको हो।
आइतबार बैठक चलिरहेको अवस्थामा मतभेद भएपछि अखिल क्रान्तिकारीका नेता भुवन विष्टले अर्का नेता रामचन्द्र भट्टलाई ढुंगा प्रहार गरेर घाइते बनाएका थिए।
कञ्चनपुर प्रहरीका प्रवक्ता डिएसपी सागर बोहोराका अनुसार अखिल (क्रान्तिकारी) को आन्तरिक छलफलमा विवाद हुँदा घटना भएको हो।
‘आन्तरिक छलफल चलिरहेका बेला घटना भएको रहेछ। रामचन्द्र भट्टको टाउकोमा चोट छ। स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई धनगढी पठाइएको थियो। त्यहाँबाट आज काठमाडौं लगिएको छ,’ उनले भने।
ढुंगा प्रहार गरेर भट्टलाई घाइते बनाउने भुवन विष्ट पनि घाइते रहेको प्रहरीले जनाएको छ।
‘उनको नाकबाट रगत बगेको थियो, टाउको पनि दुखेको भनेपछि धनगढीमा उपचार भइरहेको छ। उनलाई प्रहरी निगरानीमा राखिएको छ,’ उनले भने।
कञ्चनपुर माओवादी जिल्ला कमिटीका एक नेताले दिएको जानकारी अनुसार अखिल क्रान्तिकारीका नेताद्वय भट्ट र विष्ट क्रान्तिकारीको निर्वाचनमा उपमहासचिवमा भिडेका थिए।
भट्टले उपमहासचिव जित्दा विष्ट हारेका थिए। ती नेताका अनुसार सुरुमा दुवै जना जनार्दन शर्मा टिमबाट उपमहासचिवका दाबेदार थिए।
तर टिमबाट टिकट निश्चित नभएपछि विष्टले अर्कै समूहबाट उम्मेदवारी दिएका थिए।
‘चुनावमा जे भए पनि ती दुवै जना प्रभाकर कमरेडकै टिमका हुन्,’ ती नेताले भने, ‘अहिले विश्वविद्यालयको स्ववियु निर्वाचनमा कोसँग मिल्ने भन्ने विवादले यो झगडा निम्त्याएको हो।’
क्रान्तिकारीको अधिवेशनमा एकै पदमा प्रतिस्पर्धा गरेका ती दुई बीचमा रिसइबी थियो। विश्वविद्यालयको स्ववियु निर्वाचनमा विष्ट नेविसंघसँग मिलेर लड्नुपर्ने पक्षमा उभिएका थिए। भट्ट नेविसंघसँग मिल्न नहुने पक्षमा थिए।
त्यही विवाद बढेपछि बैठकस्थल बाहिर निस्केका विष्टले ढुंगा लिएर आएर भट्टलाई प्रहार गरेको ती नेताले बताए।