दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिक आठ जनाको ज्यान जाने गरी भएको विस्फोटको जाँच मंगलबार बिहानैबाट सुरू भएको छ।
सोमबार साँझ करिब ७ बजे भएको कार विस्फोटपछि फोरेन्सिक टोलीले नमूना संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार यो घटनामा मुख्य चार प्रश्न अनुत्तरित छन् —
पहिलो प्रश्न – विस्फोट कसरी भयो?
दिल्ली प्रहरी प्रमुख सतीश गोल्चाका अनुसार विस्फोटका कारण वरिपरिका सवारी साधन पनि क्षतिग्रस्त भएका छन्, तर विस्फोटको खास कारण पत्ता लागेको छैन।
अझैसम्म कारमा विस्फोट किन भयो भन्ने स्पष्ट जानकारी आएको नआएको उनले बताए।
के गाडीभित्र पहिल्यै विस्फोटक पदार्थ राखिएको थियो? के इन्धन ट्यांक वा सिएनजी ट्यांक नै विस्फोट भएको थियो? गाडीमा सवार व्यक्तिहरूलाई के यसबारे पहिले नै जानकारी थियो?
यी सबै प्रश्नको जबाफ अझै भेटिएको छैन।
दोस्रो प्रश्न – के यो आतंकवादी हमला हो?
अहिलेसम्म प्रहरी वा प्रशासनले यो घटना आतंकवादी हमला हो कि होइन भन्नेबारे स्पष्ट रूपमा केही भनेका छैनन्।
फरेन्सिक साइन्स ल्याबका अधिकारी मोहम्मद वाहिदले घटनास्थलबाट संकलित नमूना प्रयोगशाला पठाइएको र रिपोर्ट आएपछि मात्र केही निश्चित भन्न सकिने जानकारी दिए।
मंगलबार बिहान उत्तरी दिल्लीका डिएसपी राजा बन्थियाले यो घटनामा विस्फोटक पदार्थ ऐन र भारतीय दण्ड संहिताका विभिन्न धारामा टेकेर मुद्दा दर्ता गरिएको छ। यसका लागि फोरेन्सिक तथा अन्य विशेषज्ञ टोली प्रमाण संकलन गर्दै छन्।
तेस्रो प्रश्न – कारको मालिक को हो?
विस्फोट भएको कार कसको थियो भन्ने पनि अहिलेसम्म खुलेको छैन।
कार कहाँबाट आएको थियो? कहाँ जाँदै थियो? यस्ता प्रश्न पनि अनुत्तरित छन्।
गाडीमा कति जना सवार थिए? कति जनाको मृत्यु भयो? यस्ता सबै प्रश्नको उत्तर अझै पत्ता लाग्न बाँकी छ।
अनुसन्धानकर्ताहरूले कारको आवागमन र गतिविधि ट्र्याक गर्न खोजिरहेका छन्। केही रिपोर्टका अनुसार गाडी केही घन्टादेखि त्यही क्षेत्रमा पार्क गरिएको थियो। विस्फोट हुनुअघि बिस्तारै अगाडि बढेको देखिएको थियो। तर यी सबै कुरा प्रहरीले पुष्टि गरेको छैन।
चौथो प्रश्न – लक्ष्य को थियो?
अर्को महत्वपूर्ण प्रश्न हो — यो विस्फोट दुर्घटनावश भयो वा जानाजानी गराइएको हो?
यदि जानाजानी गरिएको हो भने, लक्ष्य को थियो?
के सामान्य जनतामाथि नै आक्रमण गर्न खोजिएको थियो?
के यसको सम्बन्ध कुनै ठूलो संगठन वा बाह्य समूहसँग छ?
यी सबै प्रश्नहरूको उत्तर अहिलेसम्म अज्ञात छ र अनुसन्धान जारी छ।