निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउने अवधि पाँच दिन थपेको छ। पहिले कात्तिक ३० सम्म रहेकोमा अब मंसिर ५ सम्म कायम हुनेछ।
प्रधानमन्त्री सुशीला कार्कीको आग्रह अनुसार अवधि थपिएको हो। उनले शुक्रबार नै मतदाता नामावलीमा नाम दर्ताको समय थप्नेबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी थिइन्।
आयोगले कात्तिक २७ सम्म २ लाख ५७ हजार ५०५ नयाँ मतदाताले नाम दर्ता गराएको जनाएको छ।
पछिल्लो समय नाम दर्ता र अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागिताका कारण मंसिर ५ सम्म थपिएको आयोगले जारी गरेको विज्ञप्तिमा छ।
थपिएको अवधिमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि-रजिस्ट्रेसन सिस्टममार्फत आवेदन गरी निर्वाचन कार्यालयमा बायो-मेट्रिक्स (फोटो तथा औंठाछाप) दिएर सेवा लिन सकिने आयोगले जनाएको छ।
निर्वाचन कार्यालयहरूमा बायो-मेट्रिक्स दिने काम शनिबार पनि हुने विज्ञप्तिमा उल्लेख छ।