नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले निर्वाचनमा भाग लिने निर्णय गर्ने भएको छ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय आजको केन्द्रीय समितिले गर्न लागेको हो।
आज दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ।
उक्त बैठकले निर्वाचनमा कांग्रेसले भाग लिने निर्णय गर्दै त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता निवेदन दिने निर्णय गर्नेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भोलिसम्म दल दर्ता गरिसक्नुपर्नेछ भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्सिर १० गतेसम्म दल दर्ता निवेदन दिइसक्नुपर्ने आयोगको भनाइ छ। उक्त समयावधि आइसकेकोले दल दर्ता निवेदन दिने निर्णय केन्द्रीय समिति बैठकले गर्न लागेको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफलमा राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेपाली कांग्रेस दल निर्वाचन आयोग दर्ता गर्ने निर्णय गर्ने विषयमा सहमति भएको एक पदाधिकारीले जानकारी दिए।
कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै विरोध गरेको थियो। तर यस विषयमा सर्वोच्च अदालतले हेर्ने भन्दै कांग्रेसले फागुन २१ को निर्वाचनमा भाग लिने निर्णय गर्न लागेको हो। केन्द्रीय समितिमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले पनि प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतले हेर्ने भन्दै आमनिर्वाचनमा भाग लिने निर्णय गर्नुपर्ने बताएका थिए।
आजको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा बोल्नेछन्।
कार्तिक १८ गते महामन्त्री थापाले पुष १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्न सकिने भन्दै कार्यतालिका पेस गरेका थिए। सहमहामन्त्री महेन्द्र यादवले सोही दिन वैशाख मसान्तमा मात्रै १५औं महाधिवेशन गर्न सकिने बताएका थिए। दुईवटा धारणा आएपछि केन्द्रीय समिति बैठकले महाधिवेशन बारे निर्णय गर्न सकेको थिएन।
यसबीचमा केन्द्रीय समिति बैठक स्थगित गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनौपचारिक छलफलहरु गरेका थिए। साथै उपचार गरेर सिङ्गापुरबाट फर्किएपछि सभापति शेरबहादुर देउवाले पनि नेताहरूसँग अनौपचारिक छलफल गर्दै महाधिवेशन तिथिमितिबारे सहमति जुटाउन पहल गरेका थिए।
तर आजसम्म पनि महाधिवेशनबारे कांग्रेसमा सहमति जुटेको छैन। त्यसैले आजको केन्द्रीय समिति बैठकले महाधिवेशन बारे कुनै निर्णय गर्ने छैन र केन्द्रीय समिति बैठक केही दिनका लागि पर धकलिनेछ।
केन्द्रीय समिति बैठक दुई-तीन दिन स्थगित गरेर भए पनि सर्वसम्मत रुपमा महाधिवेशनबारे निर्णय गराउने पक्षमा कांग्रेसका पदाधिकारीहरू छन्।
सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाले नियमित महाधिवेशनमै जोड दिइरहेका छन्।
महामन्त्री थापाले केन्द्रीय समितिमा पेस गरेको पुष १६ देखि १९ गतेसम्मकै कार्यतालिकाको वरपर रहेर नियमित महाधिवेशन गर्न सकिनेमा सभापति, कार्यवाहक सभापति र दुवै जना महामन्त्रीहरू पुगेका छन्।
तर पार्टीका केही पदाधिकारी र केही पूर्व पदाधिकारीहरू चुनाव गरेर वैशाखमा मात्रै १५ महाधिवेशन गर्नुपर्नेमा छन्। सभापति देउवा नै चुनावअघि नियमित महाधिवेशनको पक्षमा उभिएपछि उनीनिकट पदाधिकारी र पूर्व पदाधिकारीहरू यसमा सहमत हुने बताइएको छ। सभापति देउवा पक्षका २८ जना केन्द्रीय सदस्यहरूले चुनावअघि महाधिवेशन हुनुपर्ने भन्दै देउवालाई नै भेटेर कुराकानी गरेका थिए।
कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाएका थिए। विधानअनुसार हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ।
तर कांग्रेसको नेतृत्व विशेष महाधिवेशन चाहिरहेको छैन। सभापति देउवाले २८ असोजको केन्द्रीय समिति बैठकमा उपस्थित भएर महाधिवेशनमार्फत नै नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए। दुई कार्यकाल सभापति भएका देउवालाई अब तेस्रो कार्यकाल सभापति हुन विधानले पनि रोक्छ।
नियमित महाधिवेशन भए वडादेखि केन्द्रसम्म सात तहमा पार्टीको नयाँ नेतृत्व आउनेछ। विशेष महाधिवेशन भएमा केन्द्रीय समिति मात्रै परिवर्तन हुन्छ र एक वर्षभित्र नियमित महाधिवेशन गराउनुपर्ने हुन्छ। देउवा नेतृत्वको केन्द्रीय समितिको चार वर्षे कार्यकाल मङ्सिर मसान्तमा सकिने भएकाले पनि नेताहरूले नियमित महाधिवेशनमै जोड दिइरहेका छन्।
`पुषभित्र नियमित महाधिवेशन गर्न सभापति, कार्यवाहक सभापति र दुवै जना महामन्त्री तथा शेखर कोइराला पनि सहमत हुनुहुन्छ,´ एक पदाधिकारीले सेतोपाटीसँग भने, `तर विशेष महाधिवेशन माग गरेकाहरूसँग केकस्ता प्रतिबद्धतासहित कुरा गर्ने भन्ने विषय भने बाँकी नै छ। मङ्सिरभित्रै नियमित महाधिवेशन गरे आफूहरूको भावना समेटिने विशेष महाधिवेशन पक्षधरहरूको पनि कुरा थियो। पुस पुर्याउँदा उहाँहरू मान्नुहुन्छ कि हुँदैन, पुस मसान्तसम्म त विशेष महाधिवेशन पनि बाध्यकारी छ।´
नियमित महाधिवेशन पुसको ल्याउने र त्यो समयमा नभ्याउने भन्दै महाधिवेशन सार्न सक्ने आशंका नियमित महाधिवेशन पक्षधरलाई छ। त्यसैले उनीहरूले हस्ताक्षर सहितको विशेष महाधिवेशनको माग फिर्ता लिन्छन् कि लिँदैनन् यकिन भइसकेको छैन।
`विशेष महाधिवेशन हस्ताक्षर गरेकाहरूसँग पनि संवाद गर्नुभएकोले आजको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे निर्णय लिँदैन, दुई तीन दिन बैठक सारेर यस विषयमा सर्वसम्मत सहमति जुटाउँछौँ,´ कांग्रेसका अर्का एक पदाधिकारीले सेतोपार्टीसँग भने।
असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक अहिलेसम्म अनिर्णित छ। बैठकमा महामन्त्री गगन थापाले महाधिवेशन सहित १० वटा एजेण्डाहरू प्रस्तुत गरेका थिए। ती एजेण्डामा सर्वसम्मत रूपमै केन्द्रीय समितिबाट निर्णय लिन नेताहरूले औपचारिक तथा अनौपचारिक संवादहरू जारी राखेका थिए।