नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरलाई छलफलमा बोलाए पनि विशेष महाधिवेशन पक्षधर नेताहरू नजाने भएका छन्।
कार्यवाहक सभापति खड्काले नेता गुरूराज घिमिरेलाई फोन गरेर छलफलमा आउन भनेका थिए।
तर विशेष महाधिवेशन पक्षधरले आज बैठक गरेर कार्यवाहक सभापतिसँग हुने छलफलमा नजाने निर्णय गरेका छन्।
‘कार्यवाहक सभापतिज्यूले हिजो फोन गरेर छलफलमा आउन भन्नुभएको थियो,’ नेता घिमिरेले भने, ‘विशेष महाधिवेशन पक्षका नेताहरूसँग हामीले छलफल गर्यौं, कार्यवाहक सभापतिज्यूले बोलाएको छलफलमा नजाने निर्णय भयो।’
यो कुराको जानकारी आज कार्यवाहक सभापति खड्कालाई गराइसकिएको पनि उनले बताए।
४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाको हस्ताक्षर गरेर आफूहरूले विशेष महाधिवेशन माग गरेको उनको भनाइ छ। तर यतिका दिनसम्म पनि विशेष महाधिवेशन पक्षधरका मागलाई पार्टीले बेवास्ता गरेको उनको आरोप छ।
‘पार्टीले हामीलाई औपचारिक रूपबाट कुराकानी गर्न कहिल्यै पनि बोलाएन, आजको मितिसम्म। त्यसैले कार्यवाहक सभापतिसँग छलफलमा हामी नजाने निर्णय गर्यौं, उहाँसँग अनौपचारिक कुराकानी चाहिँ हुन सक्छ,’ घिमिरेले भने।
सभापति देउवाबाट भने छलफलका लागि बोलावट नभएको उनले बताए।
महाधिवेशन नहुने खालको कार्यतालिका ल्याउन खोजेको भन्दै विशेष महाधिवेशन पक्षधरले छलफलमा बस्न नमानेका हुन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए।
विधानको धारा १७ को उपधारा २ मा तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ। उक्त समय पुस २९ गते सकिँदैछ।
विशेष महाधिवेशन पक्षधरले यो कार्यसमितिको म्याद थप नहुने गरी नियमित महाधिवेशन गरे स्वीकार्य हुने नत्र विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्। पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्न उनीहरूको माग छ।
कार्यवाहक सभापति खड्काले महाधिवेशन कार्यतालिका सर्वसम्मत ढंगले केन्द्रीय समितिबाट ल्याउन खोजेका छन्।
त्यसका लागि उनले केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित गरेर नेताहरूसँग अनौपचारिक छलफल गरेका छन्।
सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वपदाधिकारी विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलाबीच पनि अनौपचारिक रूपमा छलफल गरेर सहमतिको प्रयास भइरहेको नेताहरूले बताएका छन्।
कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने, गर्ने भए नियमित महाधिवेशन कि विशेष भन्नेमा विवाद छ।
सभापति देउवा पक्षका केही पदाधिकारी, केही पूर्वपदाधिकारी र ९० जना जति केन्द्रीय सदस्यहरू चुनावपछि वैशाखमा मात्रै महाधिवेशनका पक्षमा उभिँदा २८ केन्द्रीय सदस्य भने चुनावअघि महाधिवेशन पक्षका छन्।
साथै पुसभित्रै नियमित महाधिवेशन गर्न नसक्ने हो भने विशेष महाधिवेशनको विकल्प नभएको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडान छ। नेता शेखर कोइरालाले भने नियमित महाधिवेशन हुन नसक्ने अवस्था आए केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरी विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका छन्।
महाधिवेशन कार्यतालिकामा असोज २८ गतेदेखि केन्द्रीय समितिमा छलफल भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन। कार्यवाहक सभापति खड्काले आफू कार्यवाहक रहेसम्म सर्वसम्मत निर्णयका लागि पहल गर्ने र सर्वसम्मत निर्णय हुने अवस्था नआएसम्म केन्द्रीय समिति बैठक सारिराख्ने बताएका छन्।