नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन कार्यतालिकामा समझदारी जुटाउन शुक्रबार पनि नेताहरूसँग अनौपचारिक कुराकानी गरेका छन्।
दिउँसो १ बजेदेखि निवासमा भएको छलफल साँझसम्म चल्यो तर ठोस निर्णय निस्किएन।
सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्य रमेश लेखकसहित नेताहरूले आज छलफल गरेका हुन्।
आजको छलफलमा विभिन्न विकल्पहरूमा कुराकानी भए पनि कुनै निष्कर्षमा नपुगिएको नेता रमेश लेखकको भनाइ छ।
कांग्रेसभित्र फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि, नियमित गर्ने कि विशेष भन्नेमा मतभेद छ।
सभापति देउवा र कार्यवाहक सभापति खड्का सहमतिमै महाधिवेशन तिथिमिति तय गर्न प्रयासरत छन्।
सहमहामन्त्री महेन्द्र यादव, उमाकान्त चौधरी, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रवक्ता प्रकाशशरण महत चुनावमा केन्द्रित हुनुपर्ने भन्दै वैशाखमा १५ औं महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन नभए त्यसपछि विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
उनीहरूले नियमित महाधिवेशनका नाममा कार्यतालिका ल्याउने र पछि फेरि महाधिवेशन सार्न सक्ने देखिएको भन्दै विशेष महाधिवेशनको विकल्प नरहेको अडान राखेका छन्।
सभापति देउवासँगको छलफलमा उनीनिकट नेताहरू कोषाध्यक्ष उमेश श्रेष्ठ, नेता रमेश लेखक, मीन विश्वकर्मालगायतले पुसभित्रै नियमित महाधिवेशन गरेर जान सकिने कुरासमेत राखेका छन्।
स्रोतका अनुसार कार्यवाहक सभापति खड्का र नेता लेखकले पुसभित्रै १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन सभापति देउवाले राखेको छलफलमा प्रस्ताव राखेका छन्।
‘पुसभित्रै नियमित महाधिवेशन कार्यतालिका ल्याइयो भने विशेष महाधिवेशन पक्षधरले हस्ताक्षर पनि फिर्ता लिनुपर्दैन, नियमित कार्यतालिकाले विशेष महाधिवेशन पक्षधरको माग पनि समेट्छ,’ उनीहरूले छलफलमा भनेका छन्।
तर यो कुरा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले स्वीकार गरिसकेको अवस्था छैन। अहिले पुसमै महाधिवेशन गर्ने भनेर कार्यतालिका ल्याउने र पुसमा केही बहानामा वैशाखमा महाधिवेशन सार्ने 'खेल' हुन सक्ने भन्दै उनीहरू उक्त प्रस्तावमा विश्वस्त हुन नसकेको स्रोतको भनाइ छ।
सभापति देउवानिकट केही नेताहरूले पुसको कार्यतालिका ल्याए पनि त्यो बेला महाधिवेशन नगरी वैशाखमा गर्ने गरी अहिले नै महामन्त्रीद्वयबाट प्रतिबद्धता आउनुपर्ने कुरासमेत राखेको स्रोतको दाबी छ।
यस्तो कुरा आएपछि महामन्त्रीद्वय झस्केका छन्।
महामन्त्री थापाले नियमित महाधिवेशन सुनिश्चित नहुने अवस्थामा विशेष महाधिवेशन विधानअनुसार बाध्यकारी रहेको कुरा राखेका छन्। अर्का महामन्त्री शर्माले यो मंसिरभित्रै विशेष महाधिवेशन गरेर त्यसको एक वर्षमा १५ औं महाधिवेशन गर्न सकिने कुरा राखेका छन्।
सभापति देउवा पक्षका केही नेताहरूले प्रतिनिधि सभा समानुपातिक सूची बुझाउनुपर्ने, माघ ११ को राष्ट्रिय सभा चुनाव र फागुन २१ को प्रतिनिधि सभा चुनावका लागि उम्मेदवार तय गर्न तलबाट सिफारिस माग्ने बेला भइसकेकोले चुनावमै केन्द्रित हुनुपर्ने बताएका थिए। यस्तो कुरा बताउनेहरूमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि छन्।
कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरलाई छलफलमा बोलाए पनि उनीहरू गएनन्। पार्टीले औपचारिक पत्रसमेत नपठाएको र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरलाई आजका दिनसम्म पनि बेवास्ता गरेको भन्दै विशेष महाधिवेशन पक्षधर असन्तुष्ट छन्।
यो कार्यसमितिले म्याद थप नगरी नियमित महाधिवेशन गरे आफूहरूले स्वीकार गर्ने तर नियमित महाधिवेशनका नाममा विशेष महाधिवेशन प्रस्ताव फिर्ता लिन लगाउने कार्य स्वीकार्य नहुने उनीहरूले बताएका छन्।
नेता गुरूराज घिमिरेले कार्यवाहक सभापति खड्काले छलफलमा बोलाए पनि आफूहरू नगएको बताए। उनकाअनुसार असोज २९ गते विधानको धारा १७ को २ अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएकोले त्यसको तीन महिना पुस २८ गतेभित्र विशेष महाधिवेशन आयोजना हुनुपर्छ।
सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरू पनि महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित छन्। करिब ९० जना केन्द्रीय सदस्यले चुनावपछि महाधिवेशनका पक्षमा आज बानेश्वरमा भेला गर्दा २८ केन्द्रीय सदस्य कुपन्डोलमा बेग्लै छलफल गरे।यी २८ केन्द्रीय सदस्य चुनावअघि नियमित महाधिवेशनका पक्षमा छन्।
नेता शेखर कोइराला पुसभित्रै नियमित महाधिवेशन गर्न नसकिएको खण्डमा केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनका पक्षमा छन्।
नेताहरूबीच फरक फरक मत हुँदा महाधिवेशन कार्यतालिकामा विवाद भइरहेको हो। असोज २८ गतेदेखि सुरू केन्द्रीय समिति बैठक महाधिवेशन कार्यतालिका ल्याउन नसक्दा आइतबारसम्म स्थगित छ।
उपसभापति धनराज गुरूङले पनि सभापति देउवा निवासमा भएको छलफल सकारात्मक दिशातर्फ गएको बताए।
‘सभापतिज्यूको निवासमा आज भएको अनौपचारिक बैठक केही हदसम्म सकारात्मक दिशामा अगाडी बढेको छ। नियमित महाधिवेशन पुस मसान्त मिलनविन्दु बन्न सक्छ,’ उनले भने, ‘सबै नेता साथीहरूले आआफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गरौं।’
आजको छलफलमा सहभागी नेताहरूका अनुसार पुसभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समितिबाट ल्याउने विषयमा मोटामोटी कुराकानी भएको छ तर निष्कर्ष निस्किएको छैन। यसबारे शनिबार दिउँसो पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन्।