नेकपा एमालेको ११ औं महाधिवेशनबाट पार्टीको अध्यक्षदेखि पदाधिकारी, केन्द्रीय कमिटी र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुँदैछ।
जेनजी आन्दोलन पश्चात प्रधानमन्त्रीबाट अपदस्थ हुन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली फेरि पार्टी अध्यक्षमा चुनिन चाहेका छन् भने उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारीमा छन्।
अध्यक्ष ओली पक्षधर नेताहरू फेरि पनि अध्यक्षमा ओलीलाई नै दोहोर्याउन चाहन्छन्। यसअघि २ कार्यकाल अध्यक्ष रहेका ओली फेरि पार्टी अध्यक्ष बन्न गत भदौमा भएको विधान महाधिवेशनमार्फत २ कार्यकाल मात्र पार्टी अध्यक्ष हुन पाउने र ७० वर्षे उमेरहद पार्टीको विधानबाट हटाएका थिए।
विधान महाधिवेशन सकिएको भोलिपल्टै भएको जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढलेको थियो।
आन्दोलनबाट जोगिन तत्कालीन प्रधानमन्त्री ओली र मन्त्रीहरूलाई नेपाली सेनाले हेलिकप्टरमार्फत भगाएको थियो भने देशका महत्वपूर्ण सार्वजनिक संस्थाहरूमा प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गरेका थिए।
जेनजी आन्दोलनले नेतृत्व परिवर्तन, पार्टी रूपान्तरण र पुनर्गठन गर्नुपर्ने आवाज युवा पुस्ताका नेता तथा कार्यकर्ताले लगाए पनि अध्यक्ष ओलीले फेरि आफै दोहोरिने भनेपछि कार्यकर्तामा उत्साह नदेखिएको एमालेका कार्यकर्ताहरू बताउँछन्।
‘अध्यक्षमा ओली नै दोहोरिने भएपछि पार्टीका साथीहरूमा नैराश्य छाएको देखिन्छ,’ एमाले गण्डकीका एक नेताले भने, ‘पार्टीको आन्तरिक चुनावमा जस्तै पार्टी सदस्यहरू आम निर्वाचनमा पनि पार्टीका पक्षमा लागेनन् भने पार्टीले ठूलो क्षति ब्यहोर्न पर्छ।’
महाधिवेशनमार्फत् पार्टी अध्यक्षसहित पदाधिकारी, केन्द्रीय कमिटी र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न आयोजित महाधिवेशनमा जिल्ला जिल्लाबाट जाने प्रतिनिधि छनोटमा कार्यकर्तामा उत्साह देखिएको छैन।
एमालेको महाधिवेशन प्रतिनिधि छनौट गर्न भएका निर्वाचनमा बहुमत पार्टी कार्यकर्ता अनुपस्थित भएका छन्।
गण्डकी प्रदेशमा लमजुङ, गोरखा र नवलपुरमा मतदानमार्फत महाधिवेशन प्रतिनिधि चयन गरिएको छ भने तनहुँको क्षेत्र नम्बर १ मा पनि मतदान भए पनि अहिलेसम्म निर्वाचनको परिणाम घोषणा गरिएको छैन।
महाधिवेशन प्रतिनिधि छनोटमा एमालेले पार्टी सदस्यहरूलाई मतदानको अवसर दिएको थियो। पार्टीको सदस्य संख्या भन्दा निकै थोरै कार्यकर्ता मात्र मतदानमा भाग लिए। बहुमत कार्यकर्ता महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाबाट अलग भए।
महाधिवेशन प्रतिनिधिको मतदान प्रक्रियामा कार्यकर्ताको न्यून उपस्थितिबारे नेताहरू भने पार्टी कार्यकर्ता कोही खेतबारीमा व्यस्त भएको र कोही विदेश गएकाले मतदान गर्न नआएको बताउने गरेका छन्।
मतदानमार्फत् महाधिवेशन प्रतिनिधि छनोट भएको एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार गत शनिबार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा १ हजार ९१६ जनाले मतदान गरे। जबकी, लमजुङमा एमालेको पार्टी सदस्य ५ हजार ४०० जना रहेको अध्यक्ष अधिकारी बताउँछन्।
‘लमजुङमा महाधिवेशन प्रतिनिधिको चुनावमा ३५ प्रतिशत जति मत खस्यो,’ उनले भने, ‘कार्यकर्ताले सहमति गरेर जाउ भने। मतदान गर्न रूचि राखेनन्।’
गोरखामा पनि मतदानमार्फत महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ। एमाले केन्द्रीय सदस्य एवं गोरखा इन्चार्ज रामशरण बस्नेतका अनुसार ९ जना महाधिवेशन प्रतिनिधिका लागि २४ जनाले मनोनयन दर्ता गरेका थिए। गोरखा १ मा करिब १२ सय पार्टी सदस्य रहेकोमा ४९७ जना मात्र मतदानमा सहभागी भए। गोरखा २ मा ३४२ जनाले मात्र महाधिवेशन प्रतिनिधिको चुनावमा मतदान गरे। यस्तै, गोरखाकै उत्पीडित क्षेत्रमा ८२२ जना पार्टी सदस्य रहेकोमा १३५ जना मात्र मतदानमा उपस्थित भए।
यसरी अत्यन्त न्यून संख्यामा मात्र पार्टी सदस्य महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा सहभागी हुनुका पछाडि कोही विदेश गएको, पार्टी कार्यकर्ता खेतबारीमा व्यस्त भएको र दुर्गम भूगोल कारक रहेको इन्चार्ज बस्नेत बताउँछन्।
‘गोरखा भूगोलमा निकै दुर्गम छ। कोही साथीहरू विदेश जानुभएको छ कोही खेतबारीमै व्यस्त हुनुहुन्छ,’ उनले भने, ‘जति मतदान भयो त्यसलाई हामीले उत्साहपूर्वक सहभागी भएको भनेर लिएका छौं।’
सहमतिको प्रयास असफल भएको भन्दै नवलपुरमा भएको निर्वाचनमा पनि अत्यन्त न्यून संख्यामा पार्टी सदस्यले मतदान गरे। नवलपुर क्षेत्र नम्बर १ मा ३ हजार ७४२ जना पार्टी सदस्य रहेकोमा महाधिवेशन प्रतिनिधि छनौट गर्न १८ सय ४५ जना मात्र सहभागी भए।
यस्तै, नवलपुर २ मा ३ हजार ३४२ जना पार्टी सदस्य रहेकोमा १ हजार ३०८ जना मात्र मतदानमा सहभागी भएको एमाले नवलपुरका अध्यक्ष जीवन श्रेष्ठले बताए।
नवलपुरको २ वटा निर्वाचन क्षेत्रबाट १४ जना महाधिवेसन प्रतिनिधि छनौट गर्न ३५ जनाले मनोनयन दर्ता गरेका थिए।
पार्टीको महाधिवेशन प्रतिनिधि छनोटमा कम मत खस्नुको कारण भुगोल, पार्टी सदस्य जिल्ला र देशबाहिर रहनु रहेको अध्यक्ष श्रेष्ठले बताए ।
‘पार्टीका धेरै साथीहरू जिल्ला बाहिर छन्, कोही देशबाहिर छन्,’ उनले भने, ‘भूगोलको कारणले पनि कति साथीहरू मतदान गर्न आउनुभएन।’
तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि छनोटका लागि मतदान भए पनि अहिलेसम्म मतपरिणाम घोषणा गरिएको छैन।
मत गणनाका क्रममा मतभेद भएपछि बन्दीपुर गाउँ कमिटीबाट मतदान भएको मतपेटिका हराएको भन्दै निर्वाचन समितिले परिणाम घोषणा गर्न सकेका छैनन्।
मत परिणाम सार्वजनिक नभए पनि तनहुँ १ बाट पनि अत्यन्त न्यून संख्याा मात्र पार्टी सदस्य मतदानमा सहभागी भएको देखिन्छ।
एमाले तनहुँका इन्चार्ज एवं केन्द्रीय सदस्य केदार सिग्देलका अनुसार तनहुँ १ मा करिब २ हजार ५०० जना पार्टी सदस्य छन्। जसमा १ हजार १६६ जनाले मात्र महाधिवेशन प्रतिनिधिको चुनावमा मतदान गरे।
तनहुँ १ बाट ५ जना महाधिवेशन प्रतिनिधिका लागि ११ जनाले उम्मेदवारी दिएपछि सहमतिको प्रयास असफल भएको इन्चार्ज सिग्देलले बताए।
‘महाधिवेशन प्रतिनिधि बन्न पाउनु सबै पार्टी सदस्यको बराबर अधिकार हो। धेरै जना साथीहरूले आकांक्षा राखेपछि सहमति हुन सकेन,’ उनले भने, ‘सहमति हुन्छ भनेर नै धेरै पार्टी सदस्य मतदान गर्न आउनुभएन।’
महाधिवेशन प्रतिनिधिका छनोट गर्न निर्वाचनमा बहुमत कार्यकर्ता अनुपस्थित भए जस्तै सर्वसम्मतीका नाममा माथिबाट घोषणा गरिएको प्रतिनिधि प्रति पार्टीकै नेता तथा कार्यकर्ता झन् आक्रोशित छन्।
कास्कीबाट २२ जना महाधिवेसन प्रतिनिधी छनौट गर्न १२२ जनाले मनोनयन दर्ता गरे पनि केही नेताहरु बसेर प्रतिनिधी घोषणा गरेका थिए । यसका विरुद्ध महाधिवेसन प्रतिनिधीका आकांक्षीले पार्टीका जिल्ला, प्रदेश र केन्द्रिय संगठन विभागमा उजुरी मात्र दिएका छैनन्, तत्काल निर्वाचन प्रक्रिया थाल्न पनि उनीहरुले आग्रह गरेका छन् ।
कास्की– १ बाट ७ जना महाधिवेसन प्रतिनिधीका लागि ४७ जनाले मनोनयन दर्ता गरेकोमा माथिबाटै महाधिवेसन प्रतिनिधी घोषणा गरिएको भन्दै बाँकी ४० जना आकांक्षीले विरोध जनाका छन् । एकाध नेताहरुले आफुलाई मतदान गर्ने प्रतिनिधी आँफै छनौट गरेको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् ।
एमाले कास्कीका युवा नेता विवेक त्रिपाठीले सर्वसम्मतीका नाममा माथिबाट महाधिवेसन प्रतिनिधी घोषणा गरेर पार्टीको विधान, अन्तरपार्टी निर्देशन (अपानी) र लोकतान्त्रिक विधि र प्रक्रिया विरुद्ध गएको बताएका छन् ।
‘आफुलाई छान्ने प्रतिनिधी आफैले छानेर लाने अभ्यास नेतृत्वले गरेको छ । अपानी, पार्टीको विधी र प्रक्रियालाई नेतृत्वले गुमराहमा राखेको छ,’ उनले भने, ‘अबिलम्ब निर्वाचन प्रक्रिया शुरु गरेर महाधिवेसन प्रतिनिधी छनौट गरियोस् ।’
उनले पार्टीका कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई ज्ञापन पत्र बुझाएर माथिबाट घोषणा गरिएका महाधिवेसन प्रतिनिधी आफुहरुको प्रतिनिधी हुन नसक्ने र कार्यकर्ताले अपनत्व नलिने बताएका छन् ।