नेपाली कांग्रेसका नेताहरूले धमाधम चुनाव नलड्ने घोषणा गर्न थालेका छन्।
भदौ २३ र २४ गतेको जेनजी पुस्ता आन्दोलन र त्यो आन्दोलनले पुराना पार्टीहरूमा रूपान्तरण तथा पुस्तान्तरणको सन्देश दिएको भन्दै कांग्रेसका केही नेताहरूले आमचुनाव नलड्ने घोषणा गरेका हुन्।
सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा कतैतर्फ पनि उम्मेदवारी नदिने घोषणा गरेका हुन्।
५२ वर्षीय उनी जेनजी आन्दोलन हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए।
पाण्डेले जेनजी पुस्ताका माग समयमै सम्बोधन गर्न नसकिएको पनि उल्लेख गरेका छन्।
गृहजिल्ला बाजुरा पुगेर सहमहामन्त्री पाण्डेले आफू उम्मेदवार नहुने बताए। उनी २०७९ को चुनावमा बाजुराबाट निर्वाचित भएका थिए।
पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढंगले सम्बोधन गर्न नसकिएको अनुभूति भएको बताए।
‘तत्कालीन सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रिपरिषदका सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी म लिन्छु,’ उनले भने, ‘युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढंगले सम्बोधन गर्न सकिएको थिएन।’
यही पृष्ठभूमिमा आफूले यस पटक निर्वाचन नलड्ने उनले बताए। उनले आफू अब पार्टीका काममा लाग्ने पनि बताएका छन्।
‘अहिले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई सक्रिय, विस्तारित र प्रभावकारी बनाउने तथा योग्य र सक्षम नयाँ उम्मेदवारलाई अघि बढाउन मार्गदर्शनसहित सहयोग पुर्याउने कार्यमा म लाग्छु,’ उनले भने।
बाजुरामा २०७४ मा वामगठबन्धनले चुनाव जितेको थियो भने २०७९ मा लोकतान्त्रिक गठबन्धनले चुनाव जितेको थियो। २०७९ मा पाण्डे निर्वाचित भएका थिए। त्यसअघि पाण्डे राष्ट्रिय सभा सदस्य थिए भने २०७० सालमा संविधान सभा सदस्य थिए।
आमचुनाव नलड्ने निर्णयमा पुगेका अर्का नेता हुन्- केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी।
काठमाडौंको क्षेत्र नम्बर १० मा लगातार तीन वटा चुनाव जितेका केसी अब चुनाव नलड्ने भएका हुन्।
प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभामा अब चुनाव नलड्ने उनले बताए। पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भएकोले आफूबाटै यो कामको अगुवाइ गरेको केसीले बताएका छन्।
केसी २०७०, २०७४ र २०७९ मा काठमाडौं १० बाट निर्वाचित भएका थिए।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचन तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चुनाव लडेकोले यस क्षेत्र चर्चामा थियो। केसीले प्रचण्डलाई पनि हराएका थिए।
पार्टीका पक्षमा मताधार र संगठन कमजोर रहेका बेला आफू पटक-पटक निर्वाचन लडेर जितेको बताएका उनले अब काठमाडौं १० मा पार्टीको मताधार र संगठन दुवै राम्रो भइसकेकोले जो उठे पनि सहज हुने बताए।
कांग्रेसले कीर्तिपुर क्षेत्रलाई वामपन्थीको 'लालकिल्ला'को रूपमा लिन्थ्यो। २०१५ सालदेखिका चुनाव कांग्रेसले जितेको थिएन तर केसीले 'लालकिल्ला' भत्काउँदै प्रचण्डलाई हराए र त्यसपछिका चुनाव पनि जितिरहे।
‘अब पार्टीमा युवा, महिलालगायत आउनुपर्छ, सबैले अवसर पाउनुपर्छ। आफू चाहिँ सधैं एकै पदमा बसिराख्ने, चुनाव लडिराख्ने अनि भाषणमा युवा, तरूण, रूपान्तरण र पुस्तान्तरणको कुरा गरेर हुँदैन, आफैले बाटो खोलिदिनुपर्छ। २०१५ सालेदेखि पटक पटक बहुमत ल्याएको कांग्रेसको अहिले अवस्था त्यति राम्रो छैन, पार्टीलाई सुदृढीकरण गर्नुपर्नेछ। त्यसका लागि हामीजस्ता पटक पटक अवसर पाएकाहरूले छाड्नुपर्छ भन्ने लाग्छ। चुनावमा अब युवालाई प्राथमिकताका साथ स्वागत गर्नुपर्छ भन्नेमा म उभिएको छु,’ केसीले भने।
अर्का केन्द्रीय सदस्य जिपछिरिङ लामाले पनि आफू चुनाव नलड्ने घोषणा गरेका छन्।
उनले गृहजिल्ला दोलखाका नेता तथा कार्यकर्ताहरूलाई राखेर आफू चुनाव नलड्ने बताएका हुन्।
‘मैले अब युवा पुस्तालाई मौका दिन लागेको हो, म नै चुनाव लड्छु भन्ने हो भने यो सिट त गयो गयो, साथीहरूले उम्मेदवार नहुनुस् पनि भन्न सक्नु हुन्न होला, त्यसैले मैले बाटो खाली गरिदिएको हुँ,’ उनले भने, ‘तपाईंहरू मिल्नुस् र परिणाम ल्याउनुस्।’
उनी ७० वर्षका भए। उनी २०६४ सालमा पहिलो संविधानसभामा सदस्य भएका थिए। दोस्रो संविधान सभा निर्वाचन हुँदा २०७० सालमा उनी दोलखाबाट चुनाव लडे पनि पराजित भएका थिए। २०७९ को चुनावमा यहाँ कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो, माओवादीले चुनाव जित्यो।
आमचुनाव नलड्ने घोषणा गर्नेमध्ये पूर्व कृषि मन्त्रीसमेत रहेका धादिङ कांग्रेस सभापति रामनाथ अधिकारी पनि छन्। भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उनी मन्त्री थिए। उनले भदौ २४ गते पदबाट राजीनामा दिएका थिए। त्यही दिन केपी ओली नेतृत्वको सरकार ढलेको थियो।
अधिकारीले जेनजी पुस्ताको आन्दोलनको भावनाअनुसार अब आफू आमनिर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका हुन्।
उनले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा प्रत्यक्ष तथा समानुपातिक कतै पनि आफूले उम्मेदवारी नदिने बताए।
‘म यहाँ एउटा प्रसंग सुनाउँछु- भदौ २३ र २४ को घटनापछि आलिसान महल र झण्डावाला गाडी छाडेर राजीनामा दिएर हिँड्ने मानिस हुँ,’ उम्मेदवार सिफारिस गर्ने क्षेत्रीय समितिको बैठकमा अधिकारीले भने, ‘यहाँ उम्मेदवारी प्रस्ताव आउँदैछ, त्यो उम्मेदवारी प्रस्तावमा म आफूलाई जिम्मेवारी बोध गर्दै कांग्रेसबाट भाग्न होइन, यो उम्मेदवारीमा म सहभागिता जनाउँदिनँ।’
अधिकारी २०७९ को प्रतिनिधि सभा चुनावमा धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। त्यसबेला कांग्रेस-माओवादी गठबन्धन भएको थियो।
७ पटक चुनाव जितेका सभापति शेरबहादुर देउवा अन्तिम पटक भन्दै डडेल्धुराबाट आठौं पटक चुनाव लड्दैछन्।
आठौं पटक चुनाव लड्ने तयारीमा पूर्वउपसभापति विजयकुमार गच्छदार पनि छन् भने काठमाडौं १ मा प्रकाशमान सिंह पाँचौं पटक चुनाव लड्ने तयारीमा छन्।