वडा अधिवेशन सुरू गर्न १५ दिन मात्रै बाँकी रहेको अवस्थामा नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी फारमलाई लिएर विवाद उत्पन्न भएको छ।
मंसिर १५ गते सकिएको केन्द्रीय समिति बैठकले पुस १६ गते वडा अधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो।
तर वडा अधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यतासम्बन्धी फारमलाई लिएर विवाद सिर्जना भएको छ।
महामन्त्री गगन थापाको संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति छ। समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरूङ र प्रकाश रसाइली 'स्नेही' सदस्य छन्।
क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणबारे यो समितिले जिल्ला, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति लगायत मातहतका समितिहरूसँग समन्वय गर्ने काम गर्छ, कुनै बाधा व्यवधान निस्किए समाधानको प्रयास गर्छ।
कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि २०८० सालदेखि नै मातहत समितिहरूमा फारम पठाउन थालेको थियो। महाधिवेशन मिति नतोकिँदा अधिकांश समितिहरूले समयमै क्रियाशील नवीकरण गराएका थिएनन्।
मंसिर १५ को केन्द्रीय समितिले १५ औं महाधिवेशन कार्यतालिका ल्याएपछि भने क्रियाशील नवीकरण धमाधम अघि बढेको थियो।
यसबीचमा नयाँ क्रियाशील सदस्यता फारम पनि प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिहरूमा पठाइएको छ।
नयाँ क्रियाशील फारम पठाउँदा सुदूरपश्चिम प्रदेशका केही जिल्लाका क्षेत्रहरूमा सिरियल नम्बरबिनाका फारम पुगेपछि विवाद सिर्जना भएको हो।
केन्द्रीय कार्यालयले करिब ६ लाख नयाँ क्रियाशील फारम क्षेत्रीय कार्यसमितिहरूमा पठाउँदा करिब ४ लाख फारममा सिरियल नम्बर नभएको भन्दै विवाद देखा परेको हो।
सुदूरपश्चिम प्रदेश कार्यसमितिले क्रम संख्या (सिरियल नम्बर) नभएका क्रियाशील सदस्यता फारम नभर्न मातहत समितिहरूलाई आग्रह गरेको छ।
सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले क्रम संख्या नै उल्लेख नगरिएका फारम क्षेत्रीय कार्यसमितिहरूमा पुगेको पाइएको बताए।
‘क्रम संख्या (सिरियल नम्बर) नभएका क्रियाशील सदस्यता फारमहरू आएको हो, यसबारे केन्द्रीय कार्यालयलाई जानकारी पनि गराइसकिएको छ,’ प्रदेश सभापति बलायरले सेतोपाटीसँग भने, ‘ती फारम फिर्ता गरिएको छैन, अहिलेलाई नभर्न हामीले आग्रह गरिएको छ।’
क्रम संख्या उल्लेख नगरिएका फारम भर्दा दुरूपयोग हुन सक्ने आशंका रहेको उनले बताए।
क्रम संख्या उल्लेख किन गर्नुपर्छ र यो किन आवश्यक छ भन्ने प्रश्नमा प्रदेश सभापति बलायरले भने, ‘यसको महत्त्वभन्दा पनि केन्द्रीय कार्यालयले कसलाई, कतिदेखि कति क्रम संख्या भएको फारम दिएको हो भन्ने रेकर्ड रहनुपर्छ। क्रमसंख्या नभएका फारम आएपछि यसको जिम्मेवारी कसले लिने? दुरूपयोग हुन सक्छ नि!’
कांग्रेस केन्द्रीय कार्यालयले जेनजी आन्दोलन (भदौ २३ र २४ गते) भन्दा अघि २५ प्रतिशत नयाँ क्रियाशील फारम जिल्लामा पठाएको थियो भने अहिले ७५ प्रतिशत फारम पठाइएको थियो। यी फारम सिधै क्षेत्रीय कार्यसमितिमा पठाइएका थिए।
प्रदेश सभापति बलायरका अनुसार क्रम संख्या उल्लेख नगरिएका फारमबारे केन्द्रीय कार्यालयलाई जानकारी गराएपछि यसको समाधान पनि खोजिएको छ।
कतिपय फारमहरूमा क्रमसंख्या मात्र होइन, क्रियाशील सदस्यता नम्बरसमेत उल्लेख छैन। फारममा क्रियाशील सदस्यता नम्बर किन आवश्यक छ भन्ने प्रश्नमा प्रदेश सभापति बलायर भन्छन्, ‘क्रियाशील सदस्यता फारम भर्दाकै नम्बर पछि सम्बन्धित व्यक्तिको परिचय पत्रमै समावेश हुन्छ। पार्टीका कुनै पनि चुनावमा उठ्दा त्यो नम्बर आवश्यक पर्छ।’
क्रियाशील सदस्यता फारमबारे देखिएको यो विवाद ठूलो नभएको पनि बलायरले बताए। ‘यसले अधिवेशनलाई अवरूद्ध नै गर्दैन, क्रियाशील बाँड्न एक, दुई ढिलो भयो, त्यति मात्र हो,’ उनले भने।
केन्द्रीय कार्यालयबाट क्रियाशील सदस्यता फारम पठाउँदा 'कर्मचारीले राम्रोसँग रूजु नगर्दा' क्रमसंख्या बिनाकै फारम क्षेत्रीय कार्यसमितिहरूमा पुगेको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यतहरू दाबी गर्छन्।
‘हतारहतार प्रेसबाट फारम छपाइ गरियो, क्रम संख्याबिनाकै फारम क्षेत्रीय कार्यसमितिहरूमा पुगेको रहेछ, यसमा केन्द्रीय कार्यालयका कर्मचारीहरूले कमजोरी महसुस गर्नुभएको छ, क्रियाशील सदस्यता व्यवस्थापन समितिले पनि यो विषयमा हेक्का राख्नुपर्ने हो, कमजोरी रह्यो,’ समितिका एक सदस्यले सेतोपाटीसँग भने।
अर्का एक सदस्यले भने 'मन फुकाएर' क्रियाशील सदस्यता वितरण गर्न केन्द्रीय समितिले निर्णय गरेकोले धेरै फारम मातहत समितिमा पठाइएको थियो। १४ औं महाधिवेशनमा शतप्रतिशत नयाँ क्रियाशील भर्न दिइएकोमा अहिले जनसंख्या लगायत हेरेर दुई सय प्रतिशतसम्म नयाँ क्रियाशील दिन सक्ने गरी फारमहरू पठाइएका छन्। ‘तर क्रम संख्या राख्नुपर्थ्यो, प्रेसले छुटाएछ,’ ती सदस्यले भने।
क्षेत्रीय कार्यसमितिहरूमा क्रम संख्याबिनाका क्रियाशील सदस्यता फारम पुगेपछि नेता शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले आज सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए।
भेटमा कोइरालाले क्रम संख्या नम्बर बिनाका फारम जिल्ला-जिल्ला पुगेको र यसले पार्टीभित्र जटिल समस्या सिर्जना गरेको सभापति देउवालाई सुनाएका थिए।
कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन सभापति देउवालाई आग्रह गरेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।
आजै महामन्त्री गगन थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक पनि बसेको थियो।
उक्त बैठकले २४ घन्टाभित्र क्रम संख्या उल्लेख रहेका क्रियाशील सदस्यता फारम मातहत समितिमा पठाउने निर्णय गरेको हो।
‘हामीले २५ प्रतिशत फारम जेनजी आन्दोलनअघि नै जिल्लाहरूमा पठाएका थियौं, ती फारमअनुसार क्रियाशील सदस्यता वितरणको काम गर्दै गर्ने र २४ घन्टाभित्र क्रम संख्या उल्लेख रहेका फारम जिल्ला तथा क्षेत्रहरूमा पठाउने निर्णय भएको छ,’ समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली 'स्नेही' सेतोपाटीसँग भने।
कांग्रेसमा लामो विवाद र डेढ महिना छलफलपछि पुस १६ देखि वडा अधिवेशन सुरू गरी पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका आएको थियो।
क्रियाशील सदस्यता वितरणमै देखिएका यस्ता समस्या दोहोरिँदा समयमै महाधिवेशन हुँदैन भन्नेहरूलाई बल पुगेको नेताहरूले बताउने गरेका छन्।
कांग्रेसले २०७८ मंसिर २४ देखि २८ गतेसम्म १४ औं महाधिवेशन गरेको थियो। विधानअनुसार चार वर्षे कार्यकाल मंसिर मसान्तमा सकिएको थियो।
मंसिर १५ गते केन्द्रीय समितिले कांग्रेसका सबै तहका कार्यकाल माघ मसान्तसम्म थप गरेको थियो।