नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुने निश्चित भएपछि विशेष महाधिवेशन बोलाउने तयारी भएको छ।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँग सल्लाह गरेर मंसिर १५ को केन्द्रीय समितिबाट १५ औं महाधिवेशन कार्यतालिका ल्याए पनि त्यसअनुसार अधिवेशन अघि बढेन।
नियमित महाधिवेशन नहुने अवस्था बनेपछि विशेष महाधिवेशन अघि बढाउन महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति खड्कालाई सम्बोधन गरेर केन्द्रीय कार्यालय सानेपामा हालै स्मरणपत्र पनि बुझाएका थिए। कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन बोलाउन नचाहेपछि विशेष महाधिवेशन पक्षधरले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि दबाब बढाउँदै लगेका हुन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई केन्द्रीय कार्यालय सानेपामा भेटेर हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए। विधानअनुसार हस्ताक्षर बुझेको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ। तर सभापति तथा कार्यवाहक सभापति विशेष महाधिवेशन गर्ने पक्षमा देखिएका छैनन्।
त्यसैले अब महामन्त्रीद्वय गगन र विश्वप्रकाशले नै विशेष महाधिवेशन आयोजना गर्ने तयारी गरेका छन्।
‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेको पुस २८ गते तीन महिना पुग्छ, त्यसैले पुस २६ गते नै विशेष महाधिवेशन आयोजना गर्न महामन्त्रीद्वय गगन र विश्वप्रकाशले तयारी थाल्नुभएको छ,’ एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘१५ औं महाधिवेशन नहुने निश्चित भयो, त्यसैले विशेष महाधिवेशनको अपरिहार्यता र सान्दर्भिकता छ।’
विशेष महाधिवेशन पक्षधरले कानुन व्यवसायीहरूसँग छलफल गरेर पदाधिकारीले विशेष महाधिवेशन बोलाउन मिल्छ कि मिल्दैन भनेर सुझाव लिएका थिए। त्यसक्रममा कानुन व्यवसायीहरूले महामन्त्रीहरूले विशेष महाधिवेशन आयोजना गर्न मिल्ने सुझाव दिएका थिए। त्यसपछि विशेष महाधिवेशन आयोजना गर्ने बाटोमा महामन्त्रीहरू लागेको ती पदाधिकारीले जानकारी दिए।
साथै केन्द्रीय कार्यालयले पनि विशेष महाधिवेशन बोलाउन सक्ने रहेको भन्दै कतिपय नेताहरूले महामन्त्रीअन्तर्गत केन्द्रीय कार्यालय रहने भएकोले विशेष महाधिवेशन बोलाउन सकिने तर्क गरेका छन्।
कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ।
कांग्रेसले पुस १६ गते आज (वडा) अधिवेशन गर्ने भने पनि कतिपय ठाउँमा अझै क्रियाशील सदस्यतासम्बन्धी विवाद छन्। बदनियत राखेरै विवाद झिकिएको पाइएको भन्दै यसअघि नै महामन्त्री शर्माले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आपत्ति जनाएका थिए।
महामन्त्री थापाले 'पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कुरा विधानतः बाध्यकारी मात्र होइन, पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ' बताएका छन्।
राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस निर्माण गर्नु हरेक कार्यकर्ताको युगीन जिम्मेवारी भएको उल्लेख गर्दै थापाले सोही जिम्मेवारी पूरा गर्न विशेष अधिवेशनको बाटो रोजिएको बताएका छन्।
'हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौं,' महामन्त्री थापाले भने।
सभापति शेरबहादुर देउवाले भने निवास महाराजगञ्जमा मंगलबार केही पत्रकारहरूलाई बोलाएर 'विशेष महाधिवेशन' गर्न नहुने कुरा बताएका थिए।
सभापति देउवा पक्षका कतिपय नेताहरू भने विधानमा विशेष महाधिवेशन व्यवस्था रहे पनि यसबारे कार्यविधिलगायत केही नभएको बताउने गरेका छन्।
विशेष महाधिवेशन पक्षधरका नेता बलदेव तिमिल्सिनाका अनुसार पुस २८ भित्र विशेष महाधिवेशन आयोजना गर्न मिति र स्थान तोक्न पार्टीलाई पटक पटक आग्रह गरिएको छ।
उनले विशेष महाधिवेशन पक्षधरको भेला बोलाउनेदेखि, विशेष महाधिवेशन नै आयोजना गर्न पदाधिकारीहरूलाई आग्रह गर्ने, अदालत वा निर्वाचन आयोग जानेसम्मका मोडालिटीमा छलफल भइराखेको बताएका छन्।