नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग आज बेग्लाबेग्लै भेट गरेर अहिले पार्टीभित्र देखा परेको विवादलाई हल गरेर जान आग्रह गरेका छन्।
यस्तो आग्रह गर्नेमध्ये एक केन्द्रीय सदस्य हुन्- डिला संग्रौला पन्त।
सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन कार्यतालिकाअनुसार अघि बढ्न नसकेपछि एउटा सूचनासमेत जारी नगरेको अवस्थामा महामन्त्रीद्वय थापा र शर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी १५ औं महाधिवेशन स्थगन भएको र सर्वसहमतिमै विशेष महाधिवेशनतर्फ केन्द्रीय कार्यालय अघि बढेको बताएका थिए।
त्यसपछि कांग्रेसमा महाधिवेशनलाई लिएर मतभेद भइरहेको छ।
यसै सन्दर्भमा डिल्ला संग्रौला पन्तसहित २५ केन्द्रीय सदस्यहरूले आज सभापति देउवा र महामन्त्रीद्वयलाई भेटेर पार्टीलाई एकढिक्का राख्न आग्रह गरेका हुन्। उनीहरूले महाधिवेशन, समानुपातिकमा ११ जिल्ला छुटेको र चुनावी गठबन्धन नहुने कुरामा ध्यानाकर्षण गराएका हुन्।
सभापति र महामन्त्रीहरूसँग कुराकानी गर्नेमध्ये केन्द्रीय सदस्य डिला संग्रौला पन्तसँग सेतोपाटीले गरेको कुराकानीको सम्पादित अंश;
तपाईंहरूले आज सभापति शेरबहादुर देउवालाई भेट्नु भएको रहेछ, के कुरा राख्नुभयो, त्यसमा सभापतिको भनाइ के रह्यो?
हामी आज सुरूमा सभापति शेरबहादुर देउवाको निवासमा गयौं। उहाँसँग कुराकानी भयो। हाम्रो चासो विशेष महाधिवेशनलाई नियमित महाधिवेशनले सम्बोधन गर्छ भन्ने थियो। त्यसअनुसार पार्टीलाई एकताबद्ध गर्न महाधिवेशन कार्यतालिका ल्याउन पहिला पनि बल गरेकै हो। तर पुस १६ गते वडा अधिवेशन गर्नुपर्ने कार्यतालिका थियो, तर वडा अधिवेशन भएन। अधिवेशन हुँदैन भन्ने कुनै सूचना पनि आएन। पार्टी यति गैरजिम्मेवार त हुन सक्दैन। हामीले यस विषयमा पनि सभापति देउवासँग कुरा राख्यौं।
अर्को, प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सूची पठाउँदा ११ जिल्ला छुटेको छ, कुनै प्रतिनिधित्व छैन ती जिल्लाबाट। पुरानालाई नदोहोर्याउने र नयाँ अनुहार ल्याउने भने पनि भागबन्डा र आफ्ना मानिस ल्याइएको पाइएको छ। सबै जिल्लाको प्रतिनिधित्व भएन, असमान वितरणले पार्टीभित्र असन्तुष्टि चुलियो। यसबारे पनि सभापति देउवालाई हामीले ध्यानाकर्षण गरायौं।
साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन मागेका छन्। त्यसलाई पार्टी सभापतिले त सम्बोधन गरेर जानुपर्यो, निकास के हो भन्नुपर्यो। पार्टीलाई गुट र फुटबाट बचाउनुपर्छ, यो कुरा पनि हामीले उहाँसँग राख्यौं।
सभापतिले के जबाफ दिनुभयो त?
प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सूची पठाउँदा ११ जिल्ला छुटेको विषयमा कुनै जबाफ दिनुभएन। थाहा नपाएको जस्तो गर्नुभयो। पार्टीलाई एकताबद्ध गर्ने नै हो तर विशेष महाधिवेशन हुन हुँदैन भन्नुभयो। म अब बिदा नै हुने हो भन्ने कुरा गर्नुभयो। पार्टीबाट बिदा हुन लागेको ममाथि किन यति धेरै आक्रमण भइरहेको हो भन्ने कुरा पनि उहाँले गर्नुभयो। सबै मिलेर अहिलेको समस्याको निकास निकालौं भन्नुभयो।
यसपछि तपाईंहरू महामन्त्रीहरूलाई भेट्न जानुभएको हो?
हो, सभापतिलाई भेटेर हामी महामन्त्रीहरूलाई भेट्न गयौं। महामन्त्रीहरूसँग अलि लामै समय कुराकानी भयो। महामन्त्रीहरूले पुस १४ गते नै नियमित महाधिवेशन गर्न नसकिने हो भने सूचना निकालौं भनेर कार्यवाहक सभापतिलाई भन्नुभएको थियो रे, त्यो कुरा सुनुवाइ भएन भन्ने कुरा गर्नुभयो। त्यसैले केन्द्रीय समितिले पछि अनुमोदन गर्ने गरी १५ औं महाधिवेशन स्थगन भएको सूचना हामीहरूले निकालेका हौं भन्ने कुरा दुवै जना महामन्त्रीको थियो।
महाधिवेशन कार्यतालिका संशोधन गर्ने र सूचना निकाल्ने कुरा सुनुवाइ नभएको भन्ने कुरा उहाँहरूको थियो। ११ जिल्ला छुट्ने गरी असमान ढंगले समानुपातिक उम्मेदवार सूची बनाइएको विषयमा नेतृत्वले आफूहरूको कुरा नसुनेको र पेलेर जाने प्रवृत्ति देखा परेको कुरा महामन्त्रीहरूको थियो। बोल्दा पनि हाम्रो कुरा सुनुवाइ भएन भन्ने कुरा उहाँहरूले हामीहरूसँग राख्नुभएको हो।
अर्को कुरा, नियमित महाधिवेशन नहुने हो भने अहिलेको परिस्थितिमा विशेष महाधिवेशन गर्नुपर्यो भनेर सभापतिज्यूलाई ध्यानाकर्षण गराउने र पत्र दिने कुरा भए पनि अहिलेसम्म त्यो खालको वातावरण नबनेको कुरा उहाँहरूले गर्नुभयो।
हामीले महामन्त्रीहरूलाई कसरी हुन्छ अहिलेको विवाद समाधान गर्नुपर्यो भनेका छौं। पार्टी फुट्नु भएन। उहाँहरूले पनि वचन दिनुभएको छ- यो पार्टी कुनै हालतमा फुट्दैन। पार्टी सभापतिले विवाद समाधान गर्न सक्ने कुरा उहाँहरूको छ, महाधिवेशन गरेर जाने विकल्प पनि छ भन्नुभएको छ। हामीलाई उहाँहरूले फेरि पनि मध्यमार्गी भूमिका खेलिदिनुपर्यो भन्नुभएको छ।
अब के हुन्छ?
आज केन्द्रीय कार्यसम्पादन समिति बैठक छ। यसको पर्खाइमा महामन्त्रीहरू र हामीहरू पनि छौं। कार्यसम्पादनमा महामन्त्रीहरू पनि जाने र आफ्ना कुरा सहज ढंगले राख्ने कुरा गर्नुभएको छ। उहाँहरूले कार्यवाहक सभापतिले बैठक राखेर महाधिवेशन गर्न सकिँदैन भनेर सूचनासमेत नदिएकोले आफूहरूले विज्ञप्ति जारी गर्नुपरेको र विशेष महाधिवेशन पक्षधरको कुरा पनि सम्बोधन गर्नु बाध्यकारी रहेको कुरा गर्नुभएको छ।
अब हामीले अरू नेताहरूलाई पनि भेटेर पार्टी एकढिक्का बनाउन दबाब दिनेछौं।
सभापति र महामन्त्रीहरूसँग भेटमा अरू केही कुराहरू पनि उठ्यो कि!
महासमिति बैठकले अब उप्रान्त कसैसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको थियो। तर पनि फेरि त्यही शक्तिहरूसँग हात मिलाइराख्ने? यसले नकारात्मक सन्देश पनि गयो, वैकल्पिक शक्तिहरू पनि मिले। महासमिति वा कुनै बैठक वा छलफल नै नगरी फेरि केपी शर्मा ओलीसँग लगातार भेट गर्ने र गठबन्धन फेरि हुन्छ भन्ने अभिव्यक्ति आइराख्नु पार्टी हितमा छैन भन्ने कुरा पनि हामीले सभापतिसँग राख्यौं।
विशेष महाधिवेशनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे सभापति र महामन्त्रीहरूको केही धारणा थियो कि!
सभापतिज्यूले विशेष हुनु हुँदैन रोक्नुपर्छ मात्रै भन्नुभयो।
महामन्त्रीजीले दुई वटा कुरा गर्नुभयो। एउटा, मतदान गरेर जाने र अर्को विशेष महाधिवेशनका विषयमा दस्तावेजीकरण गरेर जाने विषयमा सभापतिजीले आह्वान गरेर जाने कुरा गर्नुभयो।