नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच संवाद गर्दा विशेष महाधिवेशन पक्षधरले केही अडानहरू राख्ने भएका छन्।
दुवैतर्फका नेताहरूका अनुसार मंगलबार बिहान कार्यवाहक सभापति लाजिम्पाट एक घरमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरका नेताहरूबीच संवाद हुँदैछ।
विशेष महाधिवेशन पक्षधरका एक जना नेताले सेतोपाटीलाई दिएको जानकारी अनुसार संवादका क्रममा विशेष महाधिवेशन पक्षधरले मुख्य गरी तीन चारवटा विषयमा अडान राख्नेछन्।
पहिलो विषय सभापति शेरबहादुर देउवासँग सम्बन्धित छ। सभापति देउवाले असोज २८ गतेको केन्द्रीय समिति बैठकमा कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइसकेको अवस्था रहे पनि पछिल्लो समय उनी सक्रिय रहेको भन्दै आलोचना भइरहेको छ। त्यसैले विशेष महाधिवेशन पक्षधरका नेताहरूले सभापति देउवाले अब सक्रिय राजनीति छाडेर अभिभावकीय भूमिका खेल्नुपर्ने अडान राख्नेछन्।
'सभापतिले केन्द्रीय समितिमै उपस्थित भएर उपसभापतिलाई कार्यवाहक दिइसकेको अवस्था रहेकोले अब निर्वाचनमा दिइने टिकटमा सभापतिको हस्ताक्षर चल्ने अवस्था हुनुहुन्न, निर्वाचन आयोगमा सभापतिको हस्ताक्षर बुझाइएको अवस्था छ। त्यसलाई बदलेर कार्यवाहक सभापतिको हस्ताक्षर चल्ने व्यवस्था गर्नुपर्छ,' यस्ता प्रस्तावहरू संस्थापन पक्षसँगको संवादका क्रममा अडानको रुपमा राखिने जानकारी दिँदै विशेष महाधिवेशन पक्षधरका एक नेताले सेतोपाटीसँग भने, 'कार्यवाहकलाई साँच्चिकै कार्यवाहकको जिम्मेवारी दिनुपर्छ भन्ने हो।
दोस्रो विषय– यो पनि सभापति देउवासँगै सम्बन्धित छ। सभापति शेरबहादुर देउवाले डडेलधुरामा अन्तिमपटक निर्वाचन लड्ने तयारी गरिरहेका छन्। विशेष महाधिवेशन पक्षधरले भने अब सभापति देउवाले चुनाव लड्न नहुने अडान राख्ने भएको छ।
'प्रतिनिधि सभा समानुपातिक तर्फको उम्मेदवार सूची आयोगमा बुझाइसकिएको छ, त्यसमा ६० प्रतिशत हाराहारी सभापति देउवा पक्षका मानिसहरू छन्, माग ६ गते प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको कार्यक्रम छ, सभापति देउवा सक्रिय रहेको अवस्थामा यसमा पनि सभापति देउवा पक्ष नै हावी हुने देखिन्छ। यसले चुनावपछि पनि देउवा नै संसदीय दलको नेता बन्ने अवस्था झल्काउँछ, त्यसैले सभापति देउवा यसपालि चुनाव लड्न हुँदैन भन्ने हाम्रो अडान छ। सभापति देउवा चुनाव लडेको खण्डमा पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको मुद्दा उस्तै रहन्छ, नीति र नेतृत्व परिवर्तनका लागि गरिएको विशेष महाधिवेशनको औचित्य सकिन्छ,' विशेष महाधिवेशन पक्षदरका ती नेताले भने।
सभापति देउवा चुनाव नलडेको खण्डमा दोस्रो व्यक्ति संसदीय दलको नेता बन्ने अवस्था बन्छ।
तेस्रो कुरा, विशेष महाधिवेशनको अपनत्व सिंगो पार्टीले लिनुपर्छ भन्ने छ।
सभापति देउवा पक्षले विशेष महाधिवेशनलाई स्वीकार गरेको अवस्था छैन। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको असोज २९ गतेको मागअनुसार विधानको बाध्यकारी व्यवस्थाअनुसार महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आयोजना गरे पनि यसलाई संस्थापन पक्षका नेताहरूले भेला मात्रै भन्ने गरेका छन्।
'त्यसैले विशेष महाधिवेशन पक्षधरले संवादका क्रममा विशेष महाधिवेशनलाई स्वीकार्नुपर्ने र यसले पारित गरेका विषयहरूलाई पार्टीको सम्पत्तिको रुपमा लैजानुपर्ने र कार्यान्वयन गर्नुपर्ने विषयलाई अडानको रुपमा राख्नेछन्,' अर्का विशेष महाधिवेशन पक्षधरका नेताले भने, 'हामी विधानको सर्वोच्चता र महाधिवेशन प्रतिनिधिको भावनाअनुसार अघि बढ्न चाहन्छौं।' साथै विशेष महाधिवेशन पक्षधरका नेताहरूलाई विभेद गर्न नहुने उनीहरूको भनाइ छ।
यी विषयहरूमा संस्थापन पक्ष मान्न तयार भएका खण्डमा मात्रै समझदारी बन्ने नभए आज बन्द सत्र जारी रहने तथा निर्वाचनका कार्यक्रमहरू अघि बढ्ने पनि विशेष महाधिवेशन पक्षधरका नेताहरूको भनाइ छ।
संस्थापन पक्षका नेताहरूले भने विशेष महाधिवेशन आयोजना भइसकेको अवस्था रहेकोले यसलाई ’स्वीकार गर्ने' र पार्टीलाई एकताबद्ध बनाएर लैजान सकिने विषयमा लचकता अपनाउन सकिने बताइरहेका छन्। आम चुनावको मुखमा पार्टी विभाजन हुन नहुने तर्फ जोड दिँदै संस्थापन पक्षका नेताहरूले जसरी पनि पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताइरहेका छन्।
सभापति देउवाको निवास महाराजगंजमा हिजो कार्यवाहक सभापति खड्का, नेता शेखर कोइराला र सभापति देउवा पक्षका नेताहरूबीच कुराकानी भएको थियो। जसक्रममा निर्वाचनकेन्द्रित भएर अघि बढ्नुपर्ने र पार्टीलाई एक ढिक्का बनाएर जानुपर्ने निष्कर्ष निस्किएको थियो। साथै नेताहरूले सभापति देउवालाई महामन्त्रीहरूसँग कुराकानी गर्न पनि आग्रह गरेका थिए। सभापति देउवाले विशेष महाधिवेशन पक्षधरसँग अहिलेसम्म कुराकानी गरेका छैनन्। साथै सभापति देउवा पक्षले विशेष महाधिवेशन पक्षधरले राखेका यस्ता विषयहरूलाई कसरी लिन्छ पनि यकिन भइसकेको छैन।