कास्की–२ मा प्रतिनिधिसभा चुनावका लागि एमाले नेता कृष्ण थापाले पाइसकेको टिकट खोसिएको छ।
शनिबार एमाले सचिवालय बैठकले केन्द्रीय सदस्य थापालाई उम्मेदवार उठाउने निर्णय गरेको थियो। सोमबार हेरफेर भन्दै अर्का युवा नेता रश्मी आचार्यलाई कास्की–२ को टिकट थमाएपछि थापाले पाइसकेको टिकट खोसिएको हो।
सोमबार बिहान कास्की जिल्ला कमिटीको बैठक बसेर उम्मेदवारी दर्ताको तयारी गरेको थियो।उक्त बैठकमा एमाले युवा नेता आचार्यले पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन लाग्ने कुरा राखेका थिए।
बैठक सकेर बाहिरिएपछि एकाएक टिकट हेरफेरको निर्णय आएपछि पोखराका पूर्व मेयरसमेत रहेका थापा आश्चर्यमा परेका छन्। टिकट हेरफेरको समाचार आएपनि अहिलेसम्म पार्टीले आधिकारिक रूपमा कुनै जानकारी नदिएको उनले प्रतिक्रिया दिए।
‘आज बिहान पार्टीको जिल्ला कमिटी बैठक बसेर उम्मेदवारी दर्ताको योजना बनाइसकेका थियौँ। रश्मीजी ले नै पार्टीका उम्मेदवारलाई सहयोग गर्ने कुरा राख्नुभयो,’ थापाले सेतोपाटीलाई भने, ‘मलाई टिकट दिने निर्णय पार्टीको सचिवालयले गरेको हो, सचिवालयको निर्णय हेरफेर गर्न पनि सचिवालयकै बैठक बस्नुपर्ने होला नि।’
चुनावैपिच्छे टिकट पाउने भाग्यमानी नेता मानिएका थापाले हात पारिसकेको टिकट खोसिएपछि २०७९ को स्थानीय चुनाव उनीमाथि दोहोरिएको चर्चा हुन थालेको छ।त्यो बेला एमालेकै नेता दीपक पौडेलले पाइसकेको टिकट पछि थापाको हातमा आएको थियो।
स्थानीय निर्वाचनमा पोखरा महानगरका मेयरमा टिकट पाएका पौडेलले १० वर्षअघि पोखराकै एक सुनचाँदी पसलबाट सुनका गहना चोरी गरेको भन्दै सिसिटिभी भिडियो भाइरल गराएपछि उनको टिकट खोसिएको थियो। एमालेकै एकथरी कार्यकर्तामार्फत भाइरल गराइएको सोही भिडियोको कारण पौडेलले पाएको टिकट खोसेर पार्टीले थापालाई टिकट थमाएको थियो।
यसपटक थापाको हातबाट टिकट खोसिनुका कारण भने एमालेले अहिलेसम्म दिएको छैन। पटक–पटक चुनावमा टिकट पाउँदै आएको गुनासोबाहेक उनको हातमा दिइसकेको टिकट खोस्नुपर्ने अर्को कारण नरहेको उनी निकट नेताहरू बताउँछन्।
२०७९ को स्थानीय निर्वाचनमा पौडेलले हात पारेको टिकट खोसेर मेयर लडेका थापाले अब उप्रान्त चुनाव नलड्ने घोषणा गरेका थिए। उनी एमालेबाटै फुटेर गएको नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यबाट पराजित भएका थिए।
एमाले नेता रविन्द्र अधिकारी निरन्तर चुनाव लड्दै र जित्दै आएको कास्की–२ एमालेको पकड क्षेत्र मानिन्छ। अधिकारीको निधनपछि उनकी पत्नी एवं एमाले नेतृ विद्या भट्टराईले यही क्षेत्रबाट लगातार दुई पटक चुनाव जितेकी थिइन्। अब पार्टी राजनीति र चुनावी राजनीति नगर्ने भन्दै भट्टराईले छाडेपछि थापाले टिकट पाएका थिए।
कास्कीको एमाले राजनीतिमा प्रभावशाली रहेका थापा २०४४ सालदेखि उम्मेदवार बन्न थालेका थिए। उनले २०४९ मा पनि टिकट पाएर चुनाव लडे। तर यी दुवै चुनावमा उनले हार व्यहोरे। २०५४ को स्थानीय निर्वाचनमार्फत पोखराको मेयर निर्वाचित भएपछि थापाको शक्ति बढेको कास्कीका एमालेजन बताउँछन्। त्यतिबेला नगरपालिकामा आफू पक्षीय कार्यकर्ता भर्ती गरेको भन्दै उनको विपक्षीले मात्र नभई एमालेभित्र पनि आलोचना हुँदै आएको छ। थापाले बिना प्रतिस्पर्धा नियुक्त गरेका कर्मचारी अझै महानगरमा कार्यरत छन्।
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश सांसद विजयी भएका थापाले संसद्को कार्यकाल पूरा नहुँदै २०७९ मा राजीनामा दिएर मेयर लडेका थिए। बारम्बार एउटै नेता र पुरानै अनुहार लिएर मत माग्न जानुपरेको भन्दै एमालेका केही नेता तथा कार्यकर्ताले आक्रोश पोखेका भए पनि उनले टिकट छाडेका थिएनन्।
यसपटक टिकट खोसिए पनि आफूले कसैलाई प्रस्ताव नगरेको र कसैलाई पनि टिकट नदिएको थापा बताउँछन्। पार्टी केन्द्रले गरेको निर्णय आधिकारिक रूपमा आएपछि यसबारे आधिकारिक धारणा राख्ने उनले बताए।
‘मैले कसैलाई टिकट सिफारिस गरेको छैन। मैले पाइसकेको टिकट कसरी हेरफेर गरियो भनेर आधिकारिक रूपमा आउला नि,’ उनले भने, ‘पार्टी केन्द्रले आधिकारिक धारणा दिएपछि आधिकारिक प्रतिक्रिया दिउँला।’