किताबका भारी बोकेको गाडी लिएर केही दिनयता स्वतन्त्र सांसद महावीर पुन पोखराका चोकचोकमा पुगेका छन्।
गाडीबाट किताबका प्याकेज निकालेर बेच्न उनका सहयोगीहरूले सहयोग गर्छन्। महावीर पुस्तकमा हस्ताक्षर गर्न र पाठकसँग फोटो खिच्न व्यस्त छन्।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर सडकपेटीमा यसरी पुस्तक बेच्दै हिँड्नु नौलो होइन। उनका आत्मकथा ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ प्रकाशित भएदेखि नै यसरी देशभरका शहर–बजार पुगेर उनले पुस्तक बेचिरहेका छन्।
उनका पुस्तक खरिद गर्न आउने पाठकहरू भने सांसद निर्वाचित भएपछि पनि पुरानै दिनचर्यामा फर्किएको भन्दै आश्चर्य मान्दछन्।
सांसद महावीरले पोखराका चोकचोकमा पुस्तक बेचिरहेको कुरा पोखरा– ४ सिद्धार्थचोकका व्यवसायी सुशान्त बटाजुले बहिनीमार्फत थाहा पाएका रहेछन्। काठमाडौंमा रहेकी बहिनीले महावीरको पुस्तक उनकै हस्ताक्षरमा किनेर पठाइदिन भनेकाले आफू पुस्तक किन्न आएको बटाजुले बताए।
‘बहिनीले काठमाडौंबाट फोन गरेर महावीर पुनको पुस्तक उनकै हस्ताक्षरमा किनेर पठाइदिन भनिन्, अनि म पुस्तक किन्न आएँ,’ उनले भने, ‘एउटा पुस्तक बहिनीका लागि, एउटा पुस्तक मेरा लागि भनेर दुई थान पुस्तक किनेँ।’
बुधबार पोखरा सभागृहचोकमा महावीरको आत्मकथा किनेपछि आयुष अर्यालले महावीरलाई चुनाव जितेकोमा बधाई दिए। राम्रो कानुन बनाएर देशमा सुशासन र विकासका मुद्दा अघि बढाउन महावीरले भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे। अनि महावीरसँग फोटो खिचाएर आफ्नो गन्तव्यमा लागे।
महावीरले पोखराका चोकचोकमा पुस्तक बेचिरहेका कुरा उनले सामाजिक सञ्जालबाट थाहा पाएका थिए।
म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर म्याग्देली मतदाताले जिताएको भन्दै उनले खुशी जनाए। महावीरको पुस्तक खरिद गर्नुका पछाडि उनका आत्मकथा थाहा पाउनु मात्र नभएर वीरगञ्ज कृषि औजार कारखानालाई सहयोग पुग्ने भएकाले आफू पुस्तक खरिद गर्न आएको अर्यालले बताए।
‘महावीर पुनका बारेमा थाहा पाउनका लागि मैले पुस्तक किनेको हुँ। उहाँले चलाउनुभएको वीरगञ्ज कृषिऔजार कारखानालाई मेरो पनि थोरै सहयोग पुगोस् भनेर चाहेको छु,’ उनले भने, ‘मैले एउटा पुस्तक किन्दा उहाँको हौसला बढ्छ भने किन नकिन्ने।’
जेनजी आन्दोलन पश्चात बनेको अन्तरिम सरकारमा शिक्षा मन्त्री भएर महावीरले गरेका काम पनि अर्याललाई मन परेको रहेछ। अब सांसदको हैसियतमा देशमा उनको विज्ञता र क्षमता प्रस्तुत हुने उनको अपेक्षा छ।
देशका १६५ निर्वाचन क्षेत्रमध्ये स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका एक्ला स्वतन्त्र सांसद महावीर अब फेरि सडकपेटीमा पुस्तक बेच्न आउनुलाई अर्याल स्वाभाविक मान्छन्। महावीरका स्वभाव पहिलेदेखि नियालेका उनले संसद बैठक बस्ने तयारी नभएका बेला महावीर पुस्तक बेच्न निस्कनुलाई समयको सदुपयोगका रूपमा बुझेका छन्।
पोखराका मेयर धनराज आचार्यले सडकपेटीमा पुस्तक नबेच्न गरेको आग्रहलाई भने अर्यालले राम्रो मानेनन्।
‘पोखराका मेयर साब धनराज आचार्य ज्युको कार्यकाल अब एक वर्ष बाँकी होला, तपाईंले अहिलेसम्म केही गर्नुभएको जस्तो लाग्दैन,’ उनले भने, ‘महावीरलाई पुस्तक नबेच्न भन्नुभन्दा पोखराका फोहोर व्यवस्थापन गरेर बिदा हुनुहोला, हामी पोखरेली जनता तपाईंंसँग खुशी छैनौं।’
पुस्तक खरिद गर्न पुगेका श्रम संस्कृति पार्टी कास्कीका सचिव पदम तामाङले चुनाव जितेर सांसद हुनु र सडकपेटीमा पुस्तक बेच्नु फरक–फरक कुरा भएको बताउँछन्। सांसद भएर देशका लागि राम्रो नीति बनाउन महावीरले भूमिका खेल्ने विश्वास गर्दै उनले अन्य समय सडकमा आएर पुस्तक बेच्न पाउने बताए।
‘जनताले चुनेर संसदमा पठाउनु बेग्लै कुरा हो, पुस्तक बेच्नु बेग्लै कुरा हो,’ उनले भने, ‘संसदमा देशका लागि राम्रो कानुन बनाउन उहाँको भूमिका रहन्छ नै, अन्य समयमा कारखाना चलाउन पुस्तक बेच्न पाउनुपर्छ।’
पोखरा– ५ पर्स्याङकी अदिती पराजुलीले पहिलेदेखि नै महावीरलाई भेट्ने र उनकै हस्ताक्षरमा पुस्तक किन्ने चाहना बुधबार दिउँसो पूरा भयो। महावीरको साधारण जीवनशैलीबाट प्रभावित भएकी अदितीले वीरगञ्ज कृषि कारखाना चलाउन आफ्ना तर्फबाट योगदान दिन चाहेकी पनि बताइन्।
‘महावीर पुनलाई भेट्ने र उहाँको पुस्तक पढ्ने मेरो पहिल्यैदेखिको चाहना आज पूरा भएको छ,’ उनले भनिन्, ‘उहाँले आत्मकथा बेचेर वीरगञ्ज कृषिऔजार कारखाना चलाउने भन्नुभएको छ, मलाई पनि यस अभियानमा सहयोग गर्न मन लाग्यो।’
पोखराका मेयर आचार्य लगायत केही व्यक्तिले सांसद भएर पनि सडकमा पुस्तक बेचेको भन्दै गरेको टिप्पणीलाई उनले राम्रो मानिनन्।
‘महावीर पुनले आफ्नो स्वार्थका लागि पुस्तक बेच्न आउनुभएको होइन, निस्वार्थ गरिएको कार्य हो,’ उनले भनिन्, ‘यसमा नकारात्मक टिप्पणी गर्न आवश्यक छैन।’
पोखरा– ८ सिमलचौरका काशीराम सिलवालले महावीर पुन आफै लेखक भएकाले आत्मकथा सत्य घटनामा आधारित भएको विश्वास आफूलाई भएको बताए। विगतमा आफूले पढेका केही आत्मकथाहरू ‘घोस्ट राइटर’ले बढाइचढाइ गरी लेखेको पाएको भन्दै सिलवालले पुस्तक पढेपछि मात्र थप प्रतिक्रिया दिने बताए।
महावीरको पुस्तक खरिद गर्न रंगशाला आमा समूह नै सभागृहचोकमा देखिए। उनीहरूले एकसाथ १३ थान पुस्तक खरिद गरे अनि महावीर पुनसँग फोटो खिचेर बिदा लिए। महावीरका पुस्तक आफूहरूले पढ्ने र छोराछोरी, नातीनातिनीलाई पनि पढ्न लगाउने उनीहरूले बताए।
आमा समूहका अध्यक्ष चन्द्रावती गुरुङले महावीर पुन पुस्तक बेच्न आउँदैछन् भन्ने छरछिमेकबाट थाहा पाएपछि खोज्दै–खोज्दै आइपुगेको बताइन्।
‘हामी आमाहरूले पनि पुस्तक पढ्दो रहेछ भनेर म्यासेज जाओस्, हाम्रा छोराछोरी, नातीनातीले पनि यो पुस्तक घरमा भेटोस्,’ उनले भनिन्, ‘हरेक घरमा एउटा–एउटा पुस्तक होस् भन्ने चाहेकी छु।’
पुस्तक खरिद गर्न आउने पाठकले चुनाव जितेकोमा उनलाई बधाई दिइरहेका छन्। उनी भने धेरै बोलेका छैनन्। पुस्तकमा हस्ताक्षर गर्न र पाठकसँग फोटो खिच्न उनलाई भ्याइनभ्याई छ।
चुनाव जितेपछि अत्यधिक बधाई आउन थालेपछि मोबाइल बन्द गर्नुपरेको भने उनले पाठकहरू माझ राखे।
‘बधाई, बधाई, बधाई भनेर घण्टौँसम्म फोन आयो। ३० सेकेन्ड पनि खाली भएन,’ उनले भने, ‘२–४ दिनसम्म बधाइको फोन आएपछि के हुन्छ दिमाग। त्यही भएर फोन अफ गरिदिए।’
महावीरले बुधबार मात्र १ हजार ४०८ वटा पुस्तक बिक्री गरेको जानकारी फेसबुकमार्फत दिएका छन्। उनले बिहीबार पोखराका रामबजार र सिर्जनाचोकमा पनि पुस्तक बिक्री गरेका छन्।
भिडिओ/तस्बिरहरू-
-ink-1773304133.jpeg)
-ink-1773304133.jpeg)
-ink-1773304132.jpeg)
-ink-1773304133.jpeg)
-ink-1773304132.jpeg)