नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आज काठमाडौंको धुम्बाराहीमा राखेको छलफल सहभागी केही नेताहरूले छुट्टै पार्टी खोलेर जानुपर्ने कुरासमेत राखेका छन्।
नेता खड्काले २०७८ सालको मंसिर २४ देखि २८ गतेसम्म चलेको १४ औं महाधिवेशनबाट निर्वाचित समितिका आफू निकट रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको छलफल राखेका थिए।
विशेष महाधिवेशनविरूद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरेपछि खड्काले लगातार छलफल राख्दै आएका छन्। शनिबार केही नेताहरूसँग निवास गोल्फुटारमा छलफल गरेका उनले आइतबार छलफलको दायरा केही फराकिलो बनाए, अझै पनि छलफल जारी नै छ।
खड्का निवासमा शनिबार भएको छलफलमा बेग्लै पार्टी बनाएर जाने कि नजाने भन्ने प्रस्तावमाथि पनि छलफल चलेको थियो। त्यो प्रस्ताव आज धुम्बाराहीको छलफलमा पनि प्रवेश पायो। केही निवर्तमान केन्द्रीय सदस्यहरूले छुट्टै पार्टी गठन गरी जानुपर्ने कुरासमेत राखेका थिए।
छलफलमा सहभागी एक जना निवर्तमान केन्द्रीय सदस्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार आइतबार दिउँसो धारणा राख्ने क्रममा नेताहरू वीरबहादुर बलायर, कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं र गुरू बरालले छुट्टै पार्टी गठन गरेर जानुपर्ने कुरा राखेका हुन्। यीमध्ये बलायर र बराल देउवा र काफ्ले र हुमागाईं नेता कृष्णप्रसाद सिटौलानिकट छन्।
‘अहिले निवर्तमान पदाधिकारीहरूले धारणा राखिसक्नुभएको छैन, निवर्तमान केन्द्रीय सदस्यहरू र केही नेताले बोल्नुभयो, बोलेकामध्ये ४ जना नेताहरूले छुट्टै पार्टी गठन गरेर जानुपर्ने कुरा पनि राख्नुभएको छ,’ ती निवर्तमान केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘स्वाभिमानको अवस्था पार्टीभित्र नहुने हो भने बेग्लै पार्टी खोल्नुपर्छ भन्ने उहाँहरूको भनाइ थियो।’
पार्टीभित्र नेता तथा कार्यकर्ताहरूको योग्यता र प्रतिष्ठा हुनुपर्ने विषय उनीहरूले उठाएका थिए।
हामीले यसबारे के कुरा उठेको हो भने निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेसँग पनि बुझेका छौं।
उनले छलफलको निष्कर्ष निकाल्ने बेला भइनसकेको बताए।
‘पार्टी जिम्मेवार हुनुपर्छ, १५ औं महाधिवेशनमा पारदर्शीता र निष्पक्षता हुनुपर्छ, सबैलाई अट्ने पार्टी बनाउनुपर्छ भन्ने कुरा मैले राखेको हुँ,’ उनले भने, ‘पार्टीमा क्रियाशील सदस्यले पनि मत नहालेको अवस्था छ। ६०० क्रियाशील भएका ठाउँमा २ सय मत आएको अवस्था छ, जनताले कांग्रेसलाई किन ठूलो पार्टी बनाउन चाहेनन्, हामीले बुझ्नुपर्छ, खोज्नुपर्छ। यसका लागि सानेपा जिम्मेवार रहनुपर्छ भन्ने कुरा मैले राखेको हुँ।’
छुट्टै पार्टी बनाएर जानुपर्ने धारणा राखेको सन्दर्भमा सोधिएको प्रश्नमा काफ्लेले त्यस्तो कुरा नभएको दाबी गरे।
‘केही साथीहरूले बोल्ने क्रममा पार्टीका ऐतिहासिक घटनाक्रम उल्लेख गर्दै स्वाभिमान (योग्यता र प्रतिष्ठा) पार्टीभित्र नहुने अवस्थामा पार्टी फुटेको हुन्छ भन्ने कुरा त राख्नुभयो,’ उनले भने, ‘अहिले नै फुटिहाल्नुपर्छ भन्ने त छैन। देशभरका हाम्रा साथीभाइहरूलाई हाम्रो एजेन्डामा सुरक्षित महसुस गराउनुपर्छ भन्ने कुरा त भयो। पार्टी फुटाएरै जानुपर्छ भन्ने त छैन।’
सर्वोच्चको फैसलालाई देउवा-खड्का पक्षले स्वीकार गर्ने बताएको छ। तर केही विषयहरूमा आफूहरूको फरक मत भने कायमै रहेको जनाएको छ।
संस्थापन पक्षले भने ६१ केन्द्रीय सदस्य अझै मनोनीत गर्न बाँकी रहेकोले सबैलाई समेटेर १५ औं महाधिवेशनमा जाने वातावरण बनाउने तयारी गरिरहेको जनाएको छ।
महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिक गराइहाल्न आग्रह गरेका छन्।
‘पुरानो क्रियाशील खारेज होइन, अद्यावधिक गर्न लागिएको हो,’ उनले भने,‘यसमा कोही अलमलमा नपरौं, अद्यावधिक गरिहालौं।’
सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको उल्लेख गर्दै यसलाई जित–हारको विषय नबनाउन आग्रह गरेका छन्।
‘पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ। पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु,’ उनले भनेका छन्, ‘१५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौं।’
सभापति थापाले अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन सबै एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
यो पनि: शेखर-शशांक पक्षको निष्कर्ष- गगनको नेतृत्व मान्ने, देउवा पक्षको छलफलमा नजाने