गृहमन्त्री सुधन गुरूङले आफ्नो सेयर लगानीको स्रोतबारे उठेका प्रश्नमा सोमबार स्पष्टीकरण दिए पनि धेरै प्रश्न अझै अनुत्तरित छन्।
यो स्टोरीमा हामीले गृहमन्त्री गुरूङले आफ्नो स्पष्टीकरणमार्फत् प्रस्ट पार्न नसकेका मुख्य पाँच प्रश्न केलाएका छौं।
पहिलो प्रश्न उनले आफ्नो सम्पत्ति विवरणमा सार्वजनिक गरेका करोडौं मूल्यका सेयर लगानीको स्रोत नै हो।
गुरूङले आफ्नो स्पष्टीकरणमा 'ऋण लिएर सेयर किनेको' दाबी गरेका छन्। यसलाई पुष्टि गर्न मिडियामा सार्वजनिक भइसकेका दुईवटा कम्पनीको नाम पनि उल्लेख गरेका छन्। यी कम्पनीको नाम उनले आफ्नो सम्पत्ति विवरणमा खुलाएका थिएनन्। मिडियाले समाचार लेखेपछि त्यसलाई पुष्टि गरेका मात्र हुन्।
उनी लेख्छन्, '२५ लाखको सेयर लुकाइएको भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर दुई करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जो कोहीले मन्त्रिपरिषदको वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो।'
यिनै दुई कम्पनीको सेयर लगानीको स्रोतबारे उनी अगाडि लेख्छन्, 'मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ। उक्त तमसुक अनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो। अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो।'
तर यो स्पष्टीकरणले उनीमाथि उठेका प्रश्नको जबाफ दिँदैन। किनभने, प्रश्न मिडियाले अहिलेसम्म पत्ता लगाएका यी दुई कम्पनी (स्टार माइक्रो र लिबर्टी माइक्रो) को सेयरसँग मात्र जोडिएको छैन। प्रश्न उनले आफ्नो सम्पत्ति विवरणमा चार शीर्षकअन्तर्गत सार्वजनिक गरेको समग्र सेयर स्वामित्वसँग जोडिएको छ।
गृहमन्त्री गुरूङले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्ने हो भने उनले चार शीर्षकमा कुल ४ करोड ३१ लाख ५६ हजार रूपैयाँ बराबरको सेयर आफ्नो स्वामित्वमा रहेको खुलाएका छन्।
यसमध्ये होप होल्डिङ्स प्रालिमा ३० लाख रूपैयाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका छन् भने लगुम प्रिमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका छन्। त्यस्तै, एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखाएका छन्।
उनले पूर्ण विवरण खुलाएका यी तीनैवटा कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत छैनन्।
त्यसबाहेक धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर रहेको विवरण गुरूङले दिएका छन्। यो भनेको स्टक एक्सचेन्जमा सूचीकृत भइसकेका वा आगामी दिन सूचीकृत हुने कम्पनीहरूको सेयर मूल्य हो।
गृहमन्त्री गुरूङले धितोपत्र बजारमा कारोबार हुने यी कम्पनी कुन-कुन हुन् भनेर सम्पत्ति विवरणमा खुलाएका छैनन्। यसमध्ये ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर दोस्रो बजारबाट किनेका हुन् भने बाँकी २ करोड २१ लाख २२ हजार ६२० रूपैयाँको सेयर विभिन्न कम्पनीको संस्थापक सेयर हो।
यहाँ अनुत्तरित प्रश्न के हो भने, सुधन गुरूङले आजको स्पष्टीकरणमा भनेझैं स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सको सेयर मात्र ऋण लिएर किनेका हुन् कि सम्पत्ति विवरणमा देखाएको कुल ४ करोड ३१ लाख ५६ हजार रूपैयाँको सबै सेयर ऋण लिएर किनेका हुन्?
सेयर बजारमा केही रकम लगानी गरेर त्यसैबाट आर्जित कमाइले थप सेयर जोड्दै जानु सामान्य कुरा हो। यसरी सेयर कारोबार गरेर करोडौं आर्जन गरेका थुप्रै व्यक्ति भेटिन्छन्। तर सुधन गुरूङका हकमा यो लागू हुँदैन। उनको नाममा ४ करोडभन्दा बढीको सेयर भए पनि उनी सेयर बजारका खेलाडी होइनन्।
उनले दोस्रो बजारमा सेयर किन्न थालेको भर्खरै हो। उनले पहिलो पटक २०८२ माघ १५ गते ७ लाख ९० हजार रूपैयाँको सेयर किनेको देखिन्छ। त्यसै दिन फेरि ७ लाख ८८ हजार रूपैयाँको सेयर किनेका थिए। त्यसपछि माघ २७ गते १६ लाख १७ हजार रूपैयाँको सेयर किनेको हामीलाई प्राप्त विवरणमा छ।
उनले चौथो पटक सेयर किनेको गृहमन्त्री हुनुभन्दा पाँच दिनअघि चैत ८ गते हो। त्यो एकै दिन उनले ७ वटा कारोबार गरेको देखिन्छ। उनले ९ लाख १५ हजार, १ लाख ५२ हजार ६१०, १ लाख ८३ हजार १२०, २२ हजार ९२०, ७६ हजार ४९५, ४५ हजार ९०० र ७ लाख ४२ हजार ५३५ रूपैयाँको सेयर खरिद गरेका थिए।
उनले त्यसअघि दोस्रो बजारमा कहिल्यै सेयर किनेका थिएनन्। र, महत्त्वपूर्ण कुरा, उनले अहिलेसम्म दोस्रो बजारबाट किनेको सेयर एउटै कम्पनीको छ। त्यो हो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेड। यसबाहेक अरू कुनै पनि कम्पनीको सेयर उनले दोस्रो बजारबाट किनेका छैनन्।
यसको अर्थ के भने, दोस्रो बजारबाट किनेको ५३ लाख रूपैयाँको सेयरबाहेक बाँकी सबै संस्थापक सेयर हुन्।
त्यसो भए के उनले संस्थापक सेयर पनि ऋण लिएरै किनेका हुन्? दोस्रो बजारबाट किनेको ५३ लाखको सेयर पनि ऋण लिएरै किनेका हुन्? यसको जबाफ उनले दिएका छैनन्।
दोस्रो प्रश्न, सुधन गुरूङले आफ्नो सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत 'व्यवसाय/पैतृक सम्पत्ति/लगानी' भनेका छन्। यसमा ऋण लिएर सेयर किनेको भनिएको छैन।
आजको स्पष्टीकरणमा भनेजस्तै उनले ऋण लिएरै सबै सेयर किनेका हुन् भने सम्पत्ति विवरण भर्दा किन झूटो स्रोत देखाए?
किन उनले व्यवसाय, पैतृक सम्पत्ति वा लगानीबाट सेयर किनेको भने? ऋण लिएर सेयर किनेका हुन् भने त्यही कुरा सम्पत्ति विवरणमा किन खुलस्त पारेनन्? यसले पनि उनको सेयर खरिदको स्रोतमा शंका जन्माउँछ।
तेस्रो प्रश्न, गृहमन्त्री गुरूङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा 'ऋण लिए/दिए/तिरेको विवरण' भर्ने ठाउँ पनि छ। तर यो ठाउँ उनले खाली छाडेका छन्।
हामीले अन्य मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा कतिपयले ऋण तिर्नुपर्ने रकम खुलाएका छन्। कतिपय मन्त्रीले त गाडी किन्दा लिएको ऋण पनि सम्पत्ति विवरणमा भरेका छन्।
गृहमन्त्री गुरूङले भने उक्त ठाउँ खाली छाडेर आफूले कसैलाई पनि ऋण तिर्न वा ऋण उठाउन बाँकी छैन भनेर देखाएका छन्, जुन उनको आजको स्पष्टीकरणसँग मेल खाँदैन।
त्यसैले गृहमन्त्री गुरूङले भनेझैं यदि उनले ऋण लिएरै सेयर किनेका हुन् भने त्यो ऋण सम्पत्ति विवरणमा किन खुलाएनन्? किन उनले ढाँटे?
चौथो प्रश्न, गुरूङको स्वामित्वमा रहेको सेयरको किसिम पनि सम्पत्ति विवरणसँग मेल खाँदैन।
उनले आफ्नो सम्पत्ति विवरणमा सबै 'साधारण' सेयर रहेको देखाएका छन्। जबकि, उनीसँग साधारणभन्दा संस्थापक सेयरको हिस्सा धेरै देखिन्छ। यो तथ्य उनले किन लुकाए?
पाँचौं प्रश्न, गृहमन्त्री सुधन गुरूङले आफ्नो स्पष्टीकरणमा दीपक भट्टसँगको व्यापारिक सम्बन्धबारे केही बोलेका छैनन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका दीपक भट्टसँगको उनको व्यावसायिक साझेदारीले नै धेरै शंका जन्माएको हो, जसलाई उनको स्पष्टीकरणले सम्बोधन गर्दैन।
दीपक भट्टको पहलमा स्थापना भएका कम्पनीमा सुधन गुरूङको संस्थापक सेयर हुनुको अर्थ सामान्य सेयर खरिद वा लगानीको विषय मात्र होइन। यसले दुई जनाबीचको गहिरो सम्बन्ध संकेत गर्छ। यसले पनि सुधन गुरूङले ती कम्पनीमा गरेका लगानीको स्रोतबारे प्रश्न उठाउँछ। तर उनले यसको जबाफ दिएका छैनन्।
गुरूङले आफ्नो स्पष्टीकरणमा 'यो देशमा सेयर लगानी गर्नु कहिलेदेखि अपराध भयो?' भन्ने प्रश्न गरेका छन्।
अपराध सेयर लगानी गर्नु होइन। अपराध सेयर लगानीको स्रोत देखाउन नसक्नु हो। माथि भनेजस्तै सेयर कारोबार गरेर करोडौं कमाउनेहरू धेरै छन्। तर जसले सेयर लगानीको स्रोत देखाउन सक्दैन, ऊ शंकाको घेरामा अवश्य पर्छ।
त्यसमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सिलसिलामा पक्राउ परेका दीपक भट्टजस्तो व्यापारीको कम्पनीमा यदि गृहमन्त्रीजस्तो पदीय जिम्मेवारी र जबाफदेहिता भएको व्यक्तिले संस्थापक सेयर लिएर बसेको छ र त्यसलाई ऊ लुकाउँछ भने उसको आर्थिक चालचालनमा प्रश्न उठ्नु स्वाभाविक हो।
यसबीच गृहमन्त्री गुरूङको सेयर लगानीको स्रोतमाथि यस्ता प्रश्न अनुत्तरित रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनीमाथि प्रश्न गर्ला भन्ने धेरैको अपेक्षा थियो। सोमबारै बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकमा यसबारे प्रश्न उठ्ला भन्ने धेरैले सोचेका थिए।
केही दिनअघि मात्र पूर्वश्रममन्त्री दीपककुमार साहले पदीय जिम्मेवारी दुरूपयोग गर्दै आफ्नी पत्नीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाएको प्रश्न उठेपछि पार्टी अनुशासन आयोगले कारबाही सिफारिस गरेको थियो। त्यसै आधारमा प्रधानमन्त्री बालेन शाहले तत्कालीन श्रममन्त्री साहलाई बर्खास्त गर्नुका साथै स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराएका थिए।
यसले पनि गृहमन्त्री गुरूङमाथि पार्टीको केन्द्रीय समितिमा प्रश्न उठ्ने र अनुशासन आयोगले पनि प्रश्न गर्ने अपेक्षा गरिएको थियो।
तर आजको बैठकमा गृहमन्त्री सुधन गुरूङबारे कसैले कुरा नउठाएको रास्वपाका एक केन्द्रीय सदस्यले बताए।
बैठकपछि पत्रकारहरूले रास्वपाका प्रवक्ता मनिष झालाई गृहमन्त्री सुधन गुरूङको सम्पत्ति स्रोतबारे आइरहेका विषयमा प्रश्नहरू सोधेका थिए।
एक जना पत्रकारले 'गृहमन्त्रीका विषयमा रास्वपाका नेताहरू बोल्न नसक्ने हो?' भनेर सोधे। त्यसको जबाफमा प्रवक्ता झाले भने, 'सबै कुरा प्रस्ताव, छलफल, निष्कर्ष र निर्णय यी चार तहको हुन्छ। जुन कुराको प्रस्ताव र छलफल नै यथष्ट भइसकेको छैन भने त्यसबारे निर्णय सुनाउँदै गर्न हुन्छ र?'
उनले गृहमन्त्रीका विषयमा व्यक्तिगत रूपमा आफूले कुनै टिप्पणी नगर्ने पनि बताएका थिए।
त्यसपछि प्रवक्ता झालाई पत्रकारहरूले श्रममन्त्री रहेका बेला दीपककुमार साहलाई यी चार चरण पार नगरी हटाइएको कुरा उठाएका थिए। यसको जबाफमा प्रवक्ता झाले 'त्यस्तो होइन' भनेका थिए।
हामीले गृहमन्त्री गुरूङको सेयर लगानीबारे उठेका प्रश्नमा रास्वपाको अनुशासन आयोगले के गरिरहेको छ भनेर कार्यवाहक प्रमुख रमाकान्त रिमाललाई मेसेजमार्फत् प्रश्न सोधेका छौं। गृहमन्त्री गुरूङलाई पनि यिनै प्रश्न सोधेका छौं। तर उनीहरूबाट जबाफ आएको छैन।