प्रधानमन्त्री बालेन शाहको निर्देशनमा शनिबार दिनभरि नै काठमाडौंका सुकुम्बासी बस्तीहरू खाली गराउने क्रम जारी रह्यो।
बिहान थापाथलीबाट सुरू भएको यो क्रम दिउँसो सिनामंगलको गैह्रीगाउँ हुँदै बेलुकी मनोहरा खोला किनारको सुकुम्बासी बस्तीसम्म पुगेको थियो।
यस क्रममा मनोहराको सुकुम्बासी बस्ती हटाउन खोज्दा प्रहरीले बल प्रयोग गरेको त्यहाँका बसोबासीले बताएका छन्।
उनीहरूका अनुसार बस्ती खाली गराउने प्रहरी टोली साँझ ५ बजेतिर डोजर लिएर पुगेको थियो। यसबीच धेरैले आफ्नो घरका सामान पोको पारेर राखिसकेका थिए। कति त अन्यत्र डेरा खोजेर बसाइ सरिसकेका थिए।
तर सबै जना सर्न भ्याएका थिएनन्।
दिनभरि कोठा खोज्दा पनि नपाएकाहरू डर र अलमलको अवस्थामा साँझ परेपछि बस्तीमै फर्केका थिए।
यसबीच काठमाडौं महानगरपालिकाले मनोहरा लगायतका क्षेत्रमा आइतबार मात्र बस्ती खाली गराउने भनेको समाचार सुनेपछि उनीहरू ढुक्क भए। तर रात पर्ने बेला प्रहरी आएर बस्ती खाली गर्न माइकिङ सुरू गरेको र डोजरसमेत चलाउन थालेको यहाँका बसोबासी बताउँछन्।
एक रात बस्ने अनुमति माग्दा पनि प्रहरीले जबर्जस्ती डोजर चलाएको उनीहरूको भनाइ छ।
'साँझको समय छ, आज घर नभत्काइदिनुस्, एक रात हामीलाई बस्न दिनुस्, भोलि हामी सामान लिएर जान्छौं भनेर अनुरोध गर्दा पनि सुनिएन,' २०६२ सालदेखि मनोहरा सुकुम्बासी बस्तीमा बस्दै आएका नवीन दाहालले भने, 'मेरो पाँच जनाको परिवार छ। तीन सन्तान छन्। दिनभरि खोज्दा पनि कहीँ कोठा पाइएन। हामी रातारात कहाँ जाने?'
दुर्गा खड्कीले पनि सामान सार्न कम्तिमा एक दिनको समय दिन आग्रह गर्दा पनि प्रहरीले नमानेको गुनासो पोखिन्।
त्यस्तै, ईश्वर परियारले आफ्नो गाई ब्याएको अवस्थामा घर भत्काउन खोज्दा विवाद बढेको बताए।
'अहिले नभत्काउनू भन्दा झडप नै भयो,' उनले भने, 'हामी २१ वर्षदेखि यहाँ बस्दै आएका छौं। भोलि आफ्नै सुरले छाडेर जान्छौं भन्दा एक रात कुर्न मानेनन्।'
काठमाडौं महानगरपालिकाका अनुसार मनोहरा क्षेत्रमा करिब ७७७ घर-टहरामा करिब १६०० भन्दा बढी मानिस बसोबास गर्दै आएका थिए। तीमध्ये करिब ८० प्रतिशले आफै बस्ती छाडेर गइसकेको महानगरले जनाएको छ।
बाँकी रहेकाहरूले एक रातको म्याद माग्दा पनि 'मानवता नै नदेखाइएको' आरोप लगाएका छन्।
प्रहरीले डोजर चलाएर यहाँका तीनवटा झुपडी भत्काइदिएका छन्। त्यसमध्ये एउटा झुपडीमा सामानधरि पनि सारिएको थिएन। सामान सहितको घरमा डोजर चलेपछि स्थानीय आक्रोशित भएका थिए।
यसले बस्तीका बसोबासी र प्रहरीबीच ढुंगा हानाहान भयो। केही सुकुम्बासी घाइते भएको र केहीलाई पक्राउ गरिएको स्थानीय बताउँछन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले सुकुम्बासीहरू भेला भएर नाराबाजी गरेपछि केही बेर ढुंगामुढा भएको बताएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काका अनुसार १२-१३ जना ढुंगामुढाले घाइते भएका छन्। घाइते हुनेमा एक जना डिएसपी पनि छन्। सबैको अवस्था सामान्य भएको उनले बताए।
बेलुका भएपछि सुरक्षाकर्मीहरू पछि हटेका छन्। स्थानीय भने बेलुकी अबेरसम्म आगो बालेर बसिरहेका छन्। कोही कोही झुपडीबाट सामान सार्दै छन्। धेरैले बस्ती छाडिसकेका छन् वा छाड्ने तयारीमा छन्।