नेपाली कांग्रेसले सांसदसमेत रहेका पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई संसदीय दल नेता बनाउने भएको छ।
एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले संसदीय दल नेता आकांक्षीहरू र सांसदहरूसँग चरणबद्ध रूपमा गरेको छलफलपछि आङ्दम्बेलाई संसदीय दल नेताका रूपमा प्रस्ताव गर्न सभापति गगन थापालाई नाम दिएका छन्।
सभापति थापाले अहिले सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यसबारे जानकारी गराउनेछन्।
कार्यसम्पादन समितिको यसअघिको बैठकले सहमतिमै संसदीय दल नेता चयन गर्ने वातावरण बनाउन उपसभापतिहरू र महामन्त्रीहरू रहेको एक समिति गठन गरेको थियो। त्यसैले उक्त समितिले आफ्नो सुझाव केन्द्रीय कार्यसम्पादन समितिकै बैठकमा पेस गर्न लागेको हो।
केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दल नेता चयनमा सहजीकरणको भूमिका खेलेको छ।
संसदीय दल नेता भने सांसदहरूले नै चयन गर्नुपर्छ। त्यसका लागि आजै दिउँसो सांसदहरूको बैठकमा छलफल भई आङ्देम्बेको नाम अनुमोदन हुने ती पदाधिकारीले जानकारी दिए।
दिउँसो १ बजे संसदीय दल नेता सर्वसहमतिका आधारमा घोषणा गर्ने तयारी छ। कांग्रेसमा ३८ जना सांसद छन्।
आङ्देम्बे समानुपातिक तर्फबाट सांसद भएका थिए।
आङ्देम्बे निवर्तमान सहमहामन्त्री हुन्। उनी २०७८ साल मंसिरमा भएको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका थिए।
उनले संसद र बाहिर पनि विशेष महाधिवेशन र त्यसबाट आएको नेतृत्वको खुलेर समर्थन गर्दै आएका थिए। उनले आफू र साथीहरू गगन थापा नेतृत्वमा रहेको र आफूलाई यो वा त्यो गुटको नभनिदिन आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेका पनि थिए।
आङ्देम्बेलाई संसदीय दल नेतामा अघि सारेका खण्डमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका सांसदहरूले पनि समर्थन गर्ने कुरा उपसभापति शर्मा संयोजकत्वको समितिसमक्ष बताएको नेताहरूको भनाइ छ।
‘पार्टीभित्रको बृहत् एकतालाई ध्यान दिँदै आङ्देम्बेलाई दल नेतामा अघि सार्ने निर्णयमा पुगिएको हो,’ एक पदाधिकारीले भने।