प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सञ्चारकर्मीलाई भिडिओ खिच्न अवरोध गरेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाएको छ।
सचिवालयले उक्त घटनाबारे स्पष्ट पार्दै सञ्चारकर्मीमाथि कुनै प्रतिबन्ध नलगाइएको दाबी गरेको हो।
सचिवालयका अनुसार प्रधानमन्त्री शाह कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनको भीड देखेपछि व्यवस्थापन र सुरक्षा अवस्थाबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राखेका थिए। उक्त चासो सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग सम्बन्धित रहेको छ।
यस्तै, प्रधानमन्त्री कार्यकक्षमा प्रवेश गरेपछि सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीलाई हट्न भनेको भन्ने गुनासो आएपछि तत्काल सम्बन्धित निकायसँग समन्वय गरिएको सचिवालयले जनाएको छ। त्यसपछि सञ्चारकर्मीलाई उपलब्ध गराइएको पहुँचमा कुनै कटौती नगरिएको जानकारी गराइएको पनि विज्ञप्तिमा उल्लेख छ।
सचिवालयले जहाँ सञ्चारकर्मीलाई सूचना संकलनका लागि अनुमति छ, त्यहाँ कुनै अवरोध नभएको र भविष्यमा पनि नहुने स्पष्ट पारेको छ। साथै, सुरक्षा र व्यवस्थापनसँग जोडिएका सामान्य विषयलाई प्रेस माथिको अंकुशका रूपमा अतिरञ्जित नगर्न आग्रह गरिएको छ।