राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई लक्ष्य गर्दै दुई तिहाइको सरकारलाई ललकारेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा सांसद पराजुलीले न्यायाधीश प्रधानको भूमिका हेर्दा लज्जित भएको बताए।
'दलको कोटाबाट नियुक्त भएर 'एक्टिङ चिफ जस्टिस' को भूमिका निर्वाह गरिराख्नु भएकी प्रधानन्यायाधीशको दाबेदारले निर्वाह गरेको भूमिका हेर्दा म आफै लज्जित भएको छु,' पराजुलीले प्रतिनिधि सभा बैठकमा भने, 'पछाडि खुकुरी रमको ब्यानर रहेको ठाउँमा, व्यापारिक घरानाहरूको आयोजनामा पुगेको छ, विवाह भोजमा पनि पुगेको छ र सडकबाट दुई तिहाइको सरकारलाई ललकारेको छ।'
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल केही समय अघि बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको गल्फ प्रतियोगितामा सहभागी भएकी थिइन्। उक्त प्रतियोगितामा खुकुरी रमले प्रायोजन गरेको थियो।
त्यस्तै, सर्वोच्च अदालतले वार्षिक रूपमा मनाउँदै आएको कानुन दिवसमा प्रधानन्यायाधीश प्रधानले दुई तिहाइ र महाभियोगको डर नमानी न्यायसम्पादनमा लाग्न न्यायाधीशहरुलाई आग्रह गरेकी थिइन्। उक्त कार्यक्रममा राष्ट्रपति, सभामुख र राष्ट्रिय सभा अध्यक्ष सहभागी भएका थिए। तर सरकारको तर्फबाट कानुन मन्त्री भने सहभागी भएकी थिइनन्।
सांसद पराजुलीले न्यायालयमा दलीयकरण गरिएको दाबी गर्दै कस्तो न्याय सम्पादनको परिकल्पना गरिएको हो भन्दै प्रश्न गरे।
'सबै ठाउँमा दलीयकरण गरेको कारण यो देशमा आम जनताले न्याय पाउन सकेनन्। न्याय त सिर्फ शक्तिशाली वर्गको लागि मात्र भयो, न्याय त सिर्फ धनीहरूको लागि मात्र भयो, न्याय त सिर्फ राजनीतिक शक्ति केन्द्रको लागि मात्र भयो,' पराजुलीले भने, 'यो सरकारले प्रत्येक नेपाली नागरिकलाई समान रूपमा न्याय दिनको लागि प्रयास गरिरहेको छ।'
उनले न्यायालयलाई दूषित बनाउनका लागि दलको कोटाबाट नियुक्ति भएका न्यायमूर्तिहरूले देखाएको चरित्रले लाज पनि लजाएको बताए।
'न्यायमा सबैको बराबर पहुँच हुन्छ भन्ने कुरालाई लगभग नेपाली जनताले भुल्नुपर्ने अवस्थामा पुर्याउनु, कहाँ सम्मको लाजमार्दो अवस्था हो,' पराजुलीले भने, 'आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर अनि त्यसपछि स्वच्छ न्यायको परिकल्पना नेपाली जनताले गर्दिनू!'