प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुकुम्बासीहरूलाई आश्रयस्थल खाली गर्न सरकारले दिएको अल्टिमेटम फिर्ता लिन माग गरेको छ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसकी सांसद हरिनादेवी कामीले सरकारले उपलब्ध गराएको रकमले सुकुम्बासी परिवारलाई अपुग हुने बताइन्।
‘३८८ सुकुम्बासी परिवारलाई कुनै वैकल्पिक व्यवस्थाबिनै ५ दिनभित्र आश्रयस्थल खाली गर्न दिएको निर्णय केबल प्रशासनिक निर्णय मात्र होइन, मानव संवेदनामाथिको प्रहार हो,’ उनले भनिन्, ‘सरकारले २५ हजार एकमुष्ट र ३ महिनासम्म मासिक १५ हजारका दरले दिने आश्वासनलाई समाधानको रूपमा प्रस्तुत गरेको छ तर यो महँगीमा १५ हजार लिएर ती परिवार कहाँ जाने?’
सुकुम्बासीहरूले हामी कहाँ जाने भनेर प्रश्न गरिरहेको पनि उनले बताइन्। राज्यले नागरिकलाई सडकतर्फ धकेल्न खोजेको उनको भनाइ छ।
‘कतिपय सुकुम्बासी अझै राज्यको सूचीमा छैनन्, उनीहरूले कसरी न्याय पाउने?,’ उनले भनिन्, ‘विकासको नाममा नागरिकलाई विस्थापित गर्न सकिँदैन, घरबारविहीन गर्न पाइँदैन। ५ दिनभित्र आश्रय खाली गर्न दिएको अल्टिमेटम फिर्ता लिइयोस्।’