तत्कालीन पुरन्धारा गाविसका नेपाली कांग्रेस उपसभापति शालिकराम घिमिरेको हत्या भएको २८ वर्ष पछि शालिक निर्माण गरिएको छ।
नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ कार्यसमितिले आपसमा रकम संकलन गरी हत्या गरिएकै स्थान बबई गाउँपालिका – ५ हापुरेमा शालिकरामको शालिक निर्माण गरेको हो ।
तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०५५ साउन १६ गते शालिकरामलाई बन्धक बनाइ घर नजिकै गोली हानेर हत्या गरेका थिए।
उनको हत्या भएको सडक खण्डमै कांग्रेसले शालिकरामको शालिक ठड्याएको हो । शालिकरामको शालिकको शनिबार अनावरण गरिएको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक गिरी र कांग्रेस नेता रामहरि खतिवडाले संयुक्त रूपमा शालिकको अनावरण गरेका हुन्।
शालिक अनावरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री गिरीले शालिकराम लोकतन्त्र प्रति समर्पित, इमान्दार तथा साहसी नेता भएको स्मरण गरे ।
नेता गिरीले लोकतन्त्र स्थापनाका लागि ज्यानको पर्वाह नगरी संघर्ष गर्ने सहिदको योगदान कहिल्यै नबिर्सन कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का नेता खतिवडाले शालिकरामले जनअधिकार र लोकतन्त्रको रक्षाका लागि दिएको बलिदान आज पनि प्रेरणाको स्रोत रहेको बताए। उनले शालिकरामको सम्झनामा शालिक निर्माण गर्नु उनको योगदानप्रतिको सम्मान भएको बताए ।
‘मानिसलाई मारेर जनताको मनोबल घट्दैन, अझ बलियो हुन्छ भन्ने कुरा शालिकराम घिमिरेले प्रमाणित गर्नुभयो,’ उनले भने, ‘बबई गाउँपालिकामा कांग्रेसको विजयलाई पनि जनताले सहिद योगदानप्रति देखाएको सम्मान मान्नु पर्छ।’
खतिवडाले संविधानसभा निर्वाचनपछि देशमा कसैले पनि लोकतन्त्रका लागि ज्यान गुमाउन नपरोस भन्ने अपेक्षा गरिएको भए पनि हालै तराई–मधेशमा भएका घटनाले फेरि नागरिकले ज्यान गुमाउनुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनले सहिद घोषणा गर्ने र राहत दिने पुरानो परम्पराभन्दा यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताए।
साथै उनले कांग्रेस कमजोर बन्दै जाँदा देशको लोकतान्त्रिक प्रणाली, कानुनी राज्य र राष्ट्रियता समेत कमजोर बन्ने बताए ।
अहिले कर्मचारीतन्त्रमा ‘हाइजम्प र लङजम्प प्रतियोगिता’ जस्तो अवस्था देखिएको भन्दै न्यायपालिकामा समेत हस्तक्षेपका विषय उठिरहेको हुँदा कानुनी शासनभन्दा माथि कोही हुन नसक्ने तर्क गरे ।
‘कानुन हातमा होइन, कानुन साथमा लिएर अघि बढ्ने पद्धतिको विकास हुनुपर्छ,’ उनले भने ।
उनले कांग्रेसले जनताको विश्वास जित्दा कहिल्यै जनतालाई नहराएको दाबी गर्दै अहिले अन्य दलहरू सत्तामा पुगे पनि देशले चुनौतीको सामना गरिरहेको टिप्पणी गरे।
‘जनताबाट निर्वाचित प्रधानमन्त्री जनतासँग बोल्दैनन्,जनताबाट निर्वाचित गृहमन्त्री पनि जनतासँग हुँदैनन् हामी जनता भन्दा ठूलो कोही मान्दैनौँ, उहाँहरू सत्ता भन्दा ठूलो कोही मान्नुहुन्न,’ उनले भने।
खतिवडाले कांग्रेस आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने पार्टी भएको भन्दै कांग्रेस बन्दुकको बलमा नभइ जनमतको आधारमा राजनीति गर्ने दल भएको बताए ।