नेकपा (एमाले) का सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको नेतृत्वबारे देखिएको अन्योल एक–डेढ साताभित्र टुंगिने बताएका छन्।
सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलगायत प्रदेश सांसदहरूसँगको छलफल पछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले सरकार नेतृत्वबारे बाँकी रहेको ‘सानो गाँठो चाँडै फुक्ने’ दाबी गरेका हुन्।
उनका अनुसार एमाले र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ र अब त्यसलाई निष्कर्षमा पुर्याइनेछ।
‘हामीले केही दिनदेखि परेको सानो गाँठोलाई फुकाउँछौँ। एक–डेढ हप्ताभित्र सहमतिको कार्यान्वयन गरेर नयाँ निष्कर्षमा पुग्छौँ,’ राईले भने।
उनले कोशी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने विषयमा कुनै विवाद नरहेको तर हालका मुख्यमन्त्री हिक्मत कार्कीलोई निरन्तरता दिने कि अर्को नेताले सम्हाल्ने भन्ने विषयमा मात्रै छलफल भइरहेको बताए।
‘सरकारको नेतृत्व एमालेले नै गर्ने कुरा टुंगिसकेको छ। तर नेतृत्व अहिलेका मुख्यमन्त्री कार्कीले नै गर्नुहुन्छ कि नेतृत्व परिवर्तन हुन्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने, ‘केही दिनमै यो विषय टुंग्याउँछौँ।’
राईले बाहिर प्रचार गरिएजस्तो एमालेभित्र ध्रुवीकरण वा गम्भीर विवाद नरहेको दाबी गरे।
राईले शनिबार मुख्यमन्त्री कार्कीसँग करिब साढे दुई घण्टा लामो छलफल भएको र त्यस क्रममा पार्टीको निर्णय कार्यान्वयनका उपाय तथा संवैधानिक पक्षबारे विस्तृत कुराकानी भएको जानकारी पनि दिए।
कोशीका पूर्वमुख्यमन्त्री राई अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर कोशी आइपुगेका हुन्। उनले ओलीको सन्देश भन्दै कार्कीलाई राजीनामा गर्न भनेका थिए।
ओलीले मुख्यमन्त्री परिवर्तन गरी संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने कसरत गरिरहेका छन्।
मुख्यमन्त्री कार्कीले भने पार्टी सचिवालयको निर्णय नभएसम्म आफूले राजीनामा नदिने अडान राख्दै आएका छन्।