भारतको विहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन राज्य सभामा छानिए पछि खाली भएको उक्त सिटमा ३० जुलाइमा उपनिर्वाचन भएको हो।
उपनिर्वाचनमा भाजपाका उम्मेदवार नीरज कुमारलाई पराजित गर्दै प्रशान्त किशोर विजयी भएका हुन्। किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा कुमारले ४४ हजार ८२७ मत प्राप्त गरेका थिए।
भाजपाको तीन दशकदेखिको किल्ला किशोरको जितसँगै तोडिएको छ। यहाँ सन् १९९५ देखि भाजपाले जित्दै आएको थियो।
जीत पछि किशोरले प्रतिक्रिया दिँदै भनेका छन्, ‘३० वर्षदेखि कायम रहेको किल्ला केबल ३० दिनमै ढल्यो।’
उनले यो निर्वाचन प्रधानमन्त्री नरेन्द्र मोदी र संघीय गृहमन्त्री अमित शाहलाई सन्देश दिनका लागि भएको बताएका छन्।
‘म बाँकीपुरमा मलाई भोट दिएका, र नदिएका जनतालाई पनि धन्यवाद भन्न चाहन्छु। यो निर्वाचन एक क्षेत्रमा सांसद छान्नका लागि मात्रै थिएन। प्रधानमन्त्री नरेन्द्र मोदी र संघीय गृहमन्त्री अमित शाहलाई स्पष्ट सन्देश दिनका लागि थियो। जब विहारका जनताले २०२ सांसद जिताएर बहुमत दिएको छ, तब तिमीले राम्रो छबि भएका व्यक्तिलाई मुख्यमन्त्री छान्न पर्थ्यो।’
किशोरले जितेसँगै अब विहारको विधान सभामा २०१ सांसद भएका छन्।
किशोरले एक सिट जित्दैमा अव्यवहारिक सपना नदेख्न पनि अनुरोध गरेका छन्।
‘म सांसद बन्न बित्तिकै बाँकीपुर बैंगलुरू बन्दैन। तर जतिसक्दो हामी परिवर्तन ल्याउन खोज्छौं जसकारण जनताले पक्कै पनि दुई तीन महिनामा केही फरक महसुस गर्नेछन्,’ उनले भने।
यसैगरी भाजपाले अर्को सिटमा पनि पराजय भोगेको छ। मध्यप्रदेशको डाटिया क्षेत्रमा भएको निर्वाचनमा कंग्रेसले जित हासिल गरेको छ। भाजपाका उम्मेदवार आशुतोष तिवारीलाई ६ हजार १६ मतान्तरले पराजित गर्दै कंग्रेसका उम्मेदवार घनश्याम सिंह जितेका छन्।
सिंहले ६६ हजार ७५७ मत ल्याउँदा तिवारीले ६० हजार ७४१ मत प्राप्त गरेका थिए।
यस क्षेत्रमा सन् २०२३को निर्वाचनमा पनि कांग्रेसले जितेको थियो।
अर्को निर्वाचन क्षेत्र गुजरातको मञ्जपुरमा भने भाजपाले सहज जित निकालेको छ।
भाजपाका सतेन्द्रभाइ पटेलले कंग्रेसका भिखाभाई रबरीलाई ३० हजार मतान्तरले पराजित गरेका हुन्।