नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदको स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि तयार गरी पारित गरेको छ।
स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि २०८३ सोमबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले पारित गरेको हो।
प्रमुख सचेतक बासना थापाले स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि पारित गरिएको जानकारी दिइन्।
स्वकीय सचिव हुन इच्छुक व्यक्तिले सम्बन्धित सांसदको सिफारिसमा सिंहदरबारस्थित संसदीय दल कार्यालयमा शैक्षिक प्रमाणपत्र, नागरिकताको फोटोकपी र प्रतिबद्धता पत्रसहित निवेदन दिनुपर्ने कार्यविधिको व्यवस्था छ।
स्वकीय सचिवको मापदण्ड पनि तय गरिएको छ। राजनीति शास्त्र, कानुन, अर्थशास्त्र, सार्वजनिक प्रशासन, आमसञ्चार, कृषि, स्वास्थ्य, इन्जिनियरिङ, व्यवस्थापन विषय पढेका र स्नातक गरेकालाई प्राथमिकता दिइने व्यवस्था गरिएको हो।
स्वकीय सचिव हुन इच्छुकहरूमा संसदीय प्रक्रिया, कानुनी अभ्यास र नीति निर्माणबारे ज्ञान भने हुनुपर्नेछ।
साथै कम्प्युटरसम्बन्धी ज्ञान र तथ्यजाँचसहित सामाजिक सञ्जाल व्यवस्थापन गर्न सक्ने, निर्वाचन क्षेत्रका गुनासा व्यवस्थापन, सञ्चार समन्वयलगायत काम गर्न सक्ने हुनुपर्नेछ।
सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव सुविधा दिने निर्णय गरेसँगै कांग्रेसले स्वकीय सचिव राख्नका लागि कार्यविधि बनाएको हो।