नेकपा एमालेका सांसद कृपाराम रानाले दैलेखको ग्यास खानी उत्खनन गर्ने ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन्।
मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धी छलफलमा उनले ग्यास दीगो व्यवस्थापनको लागि दैलेखको ग्यास खानी संचालनमा ल्याउनुपर्ने बताए।
उनले ग्यास अभाव भएको वर्तमान अवस्थामा दैलेखको ग्यास खानीले गिज्याइरहेको बताए।
झन्डै ११२ अर्ब घनमिटर ग्यास रहेको उल्लेख गर्दै उनले उक्त खानी सञ्चालनमा ल्याउनसके ६० वर्षको लागि पुग्ने बताए।
उनले हाल सरकारले ग्यासको आपूर्ति व्यवस्थापन र बजार अनुगमन प्रभावकारी बनाउन नसक्दा बजारमा अभाव सिर्जना भएको बताए।
उनले नेपाल आयल निगमले समस्या समाधानभन्दा पनि सूचना जारी गर्ने काममै सीमित रहेको आरोप लगाए।
ग्यास अभाव आफूले पनि प्रत्यक्ष भोगिरहेको उल्लेख गर्दै उनले उपभोक्ताको भान्सासम्म ग्यास पुगेको छ कि छैन भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
रानाले मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आवश्यक रहेमा ६० हजार मेट्रिक टन आपूर्ति भएको बाँकी १३ हजार मेट्रिक टन ग्यास कहाँ गयो भन्ने प्रश्न गरे।
उनले ग्यास अभावबारे पटक–पटक छलफल भए पनि समस्या समाधान हुन नसकेको टिप्पणी गरे।
उनले भने, ‘जहिले पनि नेपाल आयल निगमको एउटै कुरामा समस्या देखापर्छ। कहिले आपूर्तिमा समस्या आइपर्छ, कहिले मूल्यमा। अनि आयल निगमले एउटा सूचना जारी गर्छ। कहिले बढाएको छ, कहिले घटाएको छ। त्यति मात्रै हो र? सवाल त्यति मात्रै हो? जनतासँग जोडिएको सवाल हो, जनताको गाँस, बास, कपाससँग जोडिएको समस्या हो। म पनि एउटा उपभोक्ता हुँ। तपाईं हामी सबै उपभोक्ता हौं। हामी एउटा माथिल्लो लेभलमा एउटा प्रोटोकली एउटा हैसियतमा छौं। म अस्तिदेखि ग्यास नपाएको म पनि उपभोक्ता। मेरो घरमा आजको मितिमा ग्यास छैन, समस्यामा छु। यहाँ साथीहरूको विभिन्न किसिमको आरोपका कुराहरू पनि देखापरे। त्यो आरोप लगाउनु अनावश्यक छ। समस्या समाधान गरौँ।’
बजार अनुगमन र ट्र्याकिङ प्रणाली कमजोर हुँदा कृत्रिम अभाव सिर्जना भएको हुनसक्ने उनको भनाइ छ। १५ दिनका लागि भनिएको आधा सिलिण्डर वितरण व्यवस्था चार महिनासम्म लम्बिएको र अहिले फेरि कृत्रिम अभाव देखिएको उनको भनाइ थियो।
‘उपभोक्ताले ग्यास नपाएको समस्या छ। अब ग्यास होला कतै होला तर जनताको घरमा उपभोक्ताको भान्छामा ग्यास छ कि छैन त्यो ठूलो कुरा हो। लंकामा सुन छ, कान बुच्चै भन्या जस्तो निगमले त्यस्तो कुरा गरिदिनु भएन। यो एनओसी केवल सूचना मात्र जारी गर्ने मात्र काम गर्छ,’ उनले भने, ‘समितिले निर्देशन दिने, मन्त्रालयले निर्णय गर्ने, अनि एनओसीले सूचना जारी गरिदिने, यति मात्रै हो? समस्या समाधान हुन्छ? यहाँ ४७ हजार मेट्रिक टन आवश्यक पर्छ भन्ने कुरा हामीले थाहा पायौँ। तर आपूर्ति कति ६० हजार भन्दा बढी भएको भन्ने छ, १३ हजार कहाँ गयो? कहाँ हरायो? बजार अनुगमन गरेको खोइ? ट्रयाकिङ व्यवस्था खोइ?’
उनले अगाडि भने, ‘१५ दिनको लागि हाफ सिलिण्डरको व्यवस्थापन गरिएको कुरा ४ महिना पुग्यौँ। अहिले फेरि कृत्रिम अभावको सिर्जना देखिएको छ। त्यसो भएको हुनाले म विशेष गरेर आग्रह गर्न चाहेँ, हामी यो ग्यासको वैकल्पिक व्यवस्थामा छौं कि छैनौं? दिगो सस्टेनेबल सप्लाइको लागि हामीसँग त्यो सोच छ कि छैन ? दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छ। योजना छैन हामीसँग। झण्डै ११२ अर्ब घनमिटर ५०–६० वर्षको लागि पुग्ने त्यत्रो के गर्ने? हामीसँग छ, त्यसको युटिलाइजेसन युटिलाइज गर्ने प्रोजेक्ट छैन। त्यसैले सरकारले ध्यान देओस् र त्यसका अन्य वैकल्पिक व्यवस्था गरोस्।’
सांसद रानाले दीर्घकालीन ऊर्जा सुरक्षाका लागि वैकल्पिक स्रोतमा लगानी गर्नुपर्ने आवश्यकता पनि औंल्याए। –न्युज एजेन्सी नेपाल