प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले कोशी र मधेसका केही जिल्लामा भएको घटना छानबिन गर्न न्यायिक समिति गठनको माग गरेका छन्।
आज प्रतिनिधि सभामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरूरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलमा बोल्दै उनले कोशी र मधेसका घटनाबारे सरकारले चित्तबुझ्दो जबाफ पनि दिनुपर्ने बताए।
‘हाम्रो स्पष्ट माग छ- यस घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्नुपर्छ,’ उनले भने, ‘सुनसरी, सिरहा, धनुषा र पर्सा लगायतका जिल्लाहरूमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, यसबारे सरकारले चित्तबुझ्दो जबाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ।’
साथै सम्पूर्ण घाइतेहरूको पूर्ण शीघ्र स्वास्थ्यलाभको कामना गर्दै र क्षति भएको सम्पत्तिको यकिन गरी क्षतिपूर्तिको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराएका थिए।