प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुकुम्बासीहरूलाई ५ वटा सुविधा दिन माग गरेको छ।
संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज प्रतिनिधि सभामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरूरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलको क्रममा उनले ५ सुविधा दिन माग गरेका छन्।
‘गरिब, विपन्न असहाय नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा जवरजस्ती सारेर समस्या समाधान हुँदैन। डोजरले घर भत्काउन सक्छ तर समस्या समाप्त गर्न सक्दैन। राज्यले नागरिक र नागरिको अधिकारको संरक्षण गर्ने हो। उपायविहीन, अलपत्र र जोखिममा रहेका नागरिकलाई संविधानले प्रत्याभूत गरेको संरक्षणको छहारीभित्र ल्याउनु राज्यको कर्तव्य हो। ति निमुखा नागरिकको सम्वेदना र आत्मसम्मानमाथि पटक पटकको आक्रमण राज्यको सफलता होइन,’ उनले भनेका छन्।
कांग्रेसले सुकुम्बासीलाई ५ सुविधा दिन पनि माग गरेको छ।
१. सुकुम्बासीमाथि राज्यले जे जस्तो अमानवीय र न्यूनतम मानवअधिकार विपरित व्यबहार गर्यो- ति नागरिकसँग सरकारले माफी मागोस्। तत्काल सम्मानजनक व्यवस्थापन गरोस्।
२. दीर्घकालिन समाधानका लागि तत्काल कानून तर्जुमा गरी तीन तहको समन्वयमा विधिसम्मत र सम्मानजनक बाटो अबलम्बन गरोस्।
३. वास्तविक सुकुम्बासी र जोखिम क्षेत्रमा रहेकालाई राज्यले पहिचान गरी प्राथमिकरणसहित अन्यत्र उपयुक्त स्थानमा स्थानान्तरण र पुनर्स्थापना गरोस्।
४. शक्तिको आडमा प्राकृतिक स्रोत र सार्वजनिक क्षेत्रको अतिक्रमण गरेका, हदबन्दी भन्दा बढी जग्गा राख्नेहरूको विवरण सार्वजनिक गरी अतिक्रमित भएको, कब्जा गरेको, हदवन्दीभम्दा बढी राखेको जग्गा कानुसम्मत रूपमा नेपाल सरकारको नाममा ल्याओस र ति जग्गामा संवेदनशील क्षेत्रमा बसोबास गरेका वास्तविक भूमिहीनको व्यवस्थापनमा प्रयोग गरोस्।
५. वन क्षेत्र र सार्वजनिक क्षेत्रको अतिक्रमण गर्ने रोग 'र सधैं बल्झिइरहने समस्या' सदाका लागि बन्द होस्।