राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले बागमती करिडोरको ‘बोटलनेक’ हटाउने क्रममा नेपाली सेनासँग कुनै प्रकारको विवाद वा दुर्व्यवहार नभएको दाबी गरेका छन्।
मंगलबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पाण्डेले स्थानीय जनताको वर्षौँदेखिको समस्या समाधान गर्न आफूले समन्वयकारी भूमिका मात्र निर्वाह गरेको दाबी गरे।
विगत १५–२० वर्षदेखि माकलवारी क्षेत्रमा रहेको बागमती करिडोरको अवरोध (बोटलनेक) हटाउन स्थानीय बासिन्दाले पटक–पटक माग गर्दै आएको उल्लेख गर्दै पाण्डेले सो सडक खुलाउन आफूले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, उपत्यका नगर विकास प्राधिकरण र भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरेको जानकारी दिए।
पाण्डेका अनुसार सो जग्गा नेपाल ट्रष्टको भए पनि करिडोरको मापदण्डभित्र पर्ने भएकाले विकास निर्माणकै सिलसिलामा पर्खाल भत्काइएको हो।
सुरूमा केही असमझदारी देखिए पनि पछि सेनाका महासेनानी (कर्णेल) गंगा बरालसँगको समन्वयमा दिनभर बसेर सडक खुलाउने कार्य सम्पन्न भएको उनले बताए।
उनले आफूले ‘क्याप्टेन साप’ भनेर सम्बोधन गरेको र कुनै पनि धम्की वा धाक नलगाएको स्पष्ट पारे।
सांसद पाण्डेले भने, ‘सडक खुलाउने क्रममा सूचना पुग्न केही मिनेट ढिलाइ भएका कारण नेपाली सेनाका एक क्याप्टेन कार्यस्थलमा आउनुभएको थियो। उहाँसँग सामान्य संवाद भएको हो, जसलाई सामाजिक सञ्जालमा अतिरञ्जित गरियो। मैले फौजी पृष्ठभूमिबाट आएको हुनाले सेनाको मर्यादा र बर्दीको सम्मान बुझेको छु। यो मेरो व्यक्तिगत विषय नभएर सार्वजनिक हितको काम हो। १५–२० वर्षदेखि रोकिएको काम सम्पन्न हुँदा स्थानीय जनता हर्षित छन्। म जनप्रतिनिधि भएका नाताले जनताको मुद्दा बोक्न डराउँदिनँ।’
प्रधानमन्त्रीसँगको संवाद र माफी माग्ने प्रसङ्गबारे सोधिएको प्रश्नमा उनले सो विषयमा स्पष्ट जानकारी नदिए पनि आफूहरू सत्तापक्षको सांसद भएको नाताले नियमित सम्पर्कमा रहने बताए।
उनले केही तत्वहरूले विकासको कामलाई ओझेलमा पारेर संस्थागत द्वन्द्व निम्त्याउन खोजेको आरोप समेत लगाए।–न्युज एजेन्सी नेपाल