नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एयरपोर्ट बनाउन नारायणपुरमा जति सहज टरिगाउँमा नभएको बताएका छन्।
बुधबार बिहान तुलसीपुरस्थित होटेल ‘मेट्रो दरबार’मा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलमा उमाले महासचिव पोखरेलले प्राविधिक र आर्थिक दुवै हिसाबले नारायणपुरमा जति टरिगाउँमा एयरपोर्ट बन्न सहज र सम्भव नहुने बताएका हुन्।
‘टरिगाउँ एयरपोर्ट बन्दै बन्दैन भन्ने पक्षमा म छैन,’ उनले भने ‘तर, जति नारायणपुरमा उपयुक्त छ त्यस्तो तुलसीपुरमा एयरपोर्ट बन्न सम्भव छैन।’
महासचिव पोखरेलले टरिगाउँ विमानस्थल बन्न ५ अर्ब लाग्ने बताए। टरिगाउँ एयरपोर्ट विस्तारका लागि अहिले २५ करोड रूपैयाँ विनियोजन गरेको छ। त्यति पैसाले जग्गा अधिग्रहण गर्न पनि नपुग्ने उनले बताए।
२०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा टरिगाउँ एयरपोर्ट बिस्तारका लागि नीति र बजेट दुबैमा परेको तथा त्यो बेला काँग्रेसका नेता जीवनबहादुर शाही पर्यटन मन्त्री छँदा तत्कालीन मन्त्री दीपक गिरीले दाङको एउटा महत्वपूर्ण बिषय टरिगाँउ एयरपोर्टको बारेमा अध्यन गर्न लगाएको स्मरण गरे।
त्यो अध्यनले पनि आर्थिक रुपमा टरिगाउँ एयपोर्ट विस्तार सम्भव नभएको बरु चार बगिया र नारायणपुर क्षेत्रमा एयरपोर्ट उपयुक्त छ भनेर रिपोर्ट दिएको पोखरेलले बताए ।
'त्यतिबेलाको सरकारले ९ महिना मात्रै रहेकाले काम हुन सकेन,' उनले भने।
फेरि २०७४ सालमा एमालेको नेतृत्वमा सरकार बनेपछि सोही रिपोर्ट अध्ययन गरी नारायणपुरको उत्तरी क्षेत्रमा प्राबिधिकहरू आएर अध्ययन गर्न खोज्दा सरकारी जग्गा मिचेर बसेकाहरुले बिरोध सुरु गरेको र त्यसपछि सोही टोलीले नारायणपुरको दक्षिण क्षेत्रमा अध्यन गरेपछि हालसम्म नेपालमा बनेका मध्य सबै भन्दा ‘राम्रो लोकेसन छ’ भन्ने निष्कर्ष उनीहरुले नकालेको पोखरेलले बताए ।
त्यस्तो रिपोर्ट आए पनि नारायणपुरमा एयरपोर्ट बनाउनु पर्छ भन्ने आँट कसैले नगरेको र दाङकै नेतारहरूले साथ नदिँदा अरू नेताहरूले जहाँ भन्छन् त्यहीँ अर्थात् तुलसीपुरकै एयरपोर्ट बनाउने काममा साथ दिएको उनले बताए।
‘अब तपाँइहरुले पहल गर्ने मैले साथ दिने भनेको हुँ,’ पोखरेलले भने ।
पछिल्ला् समय तुलसीपुर उपमहानगरपालिकाले प्राबिधिक टोली बोलाएर यो एयरपोर्टको अध्यन गरेको थियो।
त्यो अध्यन प्रतिवेदनले अहिलेको धावन मार्ग परिवर्तन गरी उत्तर दक्षिण करिब १५०० मिटरको धावन मार्ग बनाउन सकिने संभावना औंल्याएको थियो।
उनीहरुले सोही अनुरुप डिपिआर पनि तयार गरेको हुँदा संयुक्त सरकार भएको बेलामा कांग्रेस नेता दीपक गिरीसहित आफू पनि गएर पर्यटन मन्त्रीसँग भेट गरी टरिगाउँ एयरपोर्टका लागि बजेट राख्न लगाएको उनले बताए। तर त्यतिबेला जम्मा एक करोड मात्रै बजेट परेको पोखरेलले बताए ।
जग्गा अधिग्रहण गर्न मात्रै करिब एक अर्व बजेट चाहिने अनुमान गरिएकोमा जम्मा एक करोड बजेट परेपछि एयरपोर्ट नबन्ने भयो भन्ने धारणा बनेको उनले बताए ।
‘उहाँ (दिपक गिरी)ले पनि अहिले आएर त्यही चर्चा गर्नुभएको छ,’ पोखरेलले भने ।
साथै उनले प्राबिधिक प्रतिबेदनका आधारमा पाँच अर्ब लगानी गर्न सक्ने नेतृत्व भएमा मात्रै टरिगाउँ एयरपोर्टको १५०० मिटर लामो धावन मार्ग विस्तार गर्न सम्भव हुने दाबी गरे ।
महासचिव पोखरेलले एयरपोर्ट विस्तार भए पनि तुलसीपुरमा दिउँसोको समयमा चल्ने हावाका कारण जहाज दिउँसोमा अवतरण गर्न नसक्ने तथा बेलुकी र बिहान मात्रै बस्न मिल्ने भनेर प्राबिधिकले रिपोर्टमा औंल्याएको कुरा महासचिव पोखरेलले उल्लेख गरे।