नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले तीन वटा पार्टी मिलेर प्रदेशहरूमा सहकार्य गर्न नमानेपछि नयाँ समीकरण बनाउनुपरेको बताएका छन्।
आज दाङमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले कांग्रेसले एमालेसँग सहकार्यसमेत गर्न नचाहेको बताए।
‘हाम्रो सोच तीन वटै पार्टी (कांग्रेस-एमाले-नेकपा) मिलेर जाऔं भन्ने थियो, कांग्रेसले तीन पार्टी मिल्ने कुरामा सहमति जनाएन, हामीसँग सहकार्य गर्न पनि मानेन,’ उनले भने, ‘त्यस्तो अवस्थामा एमाले र नेकपाबीच प्रदेश सरकारहरू बनाउनेबारे सहमति भएको हो। अहिले पनि कांग्रेस सहकार्यका लागि तयार हुन्छ भने सहकार्य गर्न सकिन्छ भन्नेमा एमाले र नेकपा छन्।’
प्रदेशहरूमा कांग्रेसका मुख्यमन्त्रीले बिनाजानकारी एमालेका मन्त्रीहरू बर्खास्त गरेकोसमेत उनले बताए।
‘कांग्रेससँगको सहकार्य एमालेको कारण टुटेको होइन, मुख्यमन्त्री वा कांग्रेस संसदीय दल नेताका कारण सहकार्य टुटेको हो,’ उनले भने, ‘कर्णालीमा कांग्रेसले अलग समीकरण बनाउने जमर्को गरेको थियो। त्यसमाथि कांग्रेसले एमालेसँग समीकरण नगर्ने निर्णय गरेको अवस्था थियो।’