नेपाली कांग्रेसले अहिलेको सरकारले गरेका राजनीतिक नियुक्तिहरूमा प्रश्न उठाएको छ।
केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी प्रवक्ता देवराज चालीसेले राजनीतिक नियुक्तिमा पुन: पार्टीकै कार्यकर्ताहरूलाई प्राथमिकता दिएको देखिएको बताएका हुन्।
सरकारले सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेश ल्याएर विगतमा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेको थियो।
त्यसतर्फ लक्ष्य गर्दै कांग्रेस प्रवक्ता चालीसेले राजनीतिक नियुक्तिमा पुन: दलीय कार्यकर्ता नै हाबी रहेको पाइएको बताएका हुन्।
‘झोलेहरूलाई हटाउँछु भन्ने नाममा सरकारले झोलेहरू नै नियुक्त गर्ने प्रक्रियालाई सुशासन भनिँदैन, सरकारका जति पनि नियुक्ति छन् त्यसमा राजनीतिक छाया छ, जिम्मेवार पार्टीका जिम्मेवार नेताहरूले आफ्नो पार्टीको सदस्य भएपछि नम्बर बढी आउँछ भनेर त सार्वजनिक रूपमै भनेको हो नि,’ उनले भने, ‘वर्तमान नियुक्तिहरूमा त्यो देखिएकै छ।’
सरकारका नियुक्ति र निर्णयहरू प्रष्ट मापदण्डसहित हुनुपर्नेमा उनले जोड दिए।
‘सरकारका नियुक्ति र निर्णय निश्चित मापदण्डका आधारमा पारदर्शी हुनुपर्छ, सरकारी नियुक्तिहरू योग्यताका आधारमा हुनुपर्छ, पक्षधरताका आधारमा होइन,’ उनले भने, ‘सरकार फेरिनेबित्तिकै नियुक्ति संस्थागत स्थायित्वलाई कमजोर बनाउँछ।’
उनले राजनीतिक नियुक्ति प्रक्रियाबारे सरकारको धारणा पनि माग गरेका छन्।