नेपाली कांग्रेसका नेताहरूले 'देश र कांग्रेस' जोड्न एकता-सद्भाव विमर्श गरेका छन्।
काठमाडौंको सुकेधारामा आज भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर लगायतले धारणा राखेका थिए।
‘कांग्रेसभित्र अहिले देखिएको परिस्थिति फुटउन्मुख छ। फुटबाट जोगाएर कसरी एक ढिक्का कांग्रेस बनाउन सकिन्छ भन्ने मुल उदेश्य लिएर देश र कांग्रेस जोड्ने अभियान गरिएको हो,’ कर्णले भने।
कर्णकै अध्यक्षतामा आज 'देश र कांग्रेस' जोड्न एकता-सद्भाव विमर्श भएको हो।
उनले संस्थापन र संस्थापनइतर पक्ष एक कदम पछि हटेर सहमतिमा आउनुपर्नेमा जोड दिए। ‘दुवै पक्ष एक एक कदम पछि हटेर भए पनि सहमतिमा आउनुपर्छ,’ उनले भने, ‘कांग्रेस कमजोर भए देशकै लोकतन्त्र कमजोर हुन्छ।’
अर्का नेता नेता नैनसिंह महरले पार्टी एक हुने विश्वास व्यक्त गरेका छन्।
‘पार्टी मिल्छ भने मलगायत ३५ जना केन्द्रीय सदस्य बस्दैनौं, ६/७ जना सिनियर नेताहरू पनि केन्द्रीय समितिमा बस्नुहुन्न, बाँकी रहेका मानिसलाई विधानभित्रै रहेर सभापतिजीले मिलाउनुपर्छ,’ उनले भने, ‘यस विषयमा केन्द्रीय समितिको साउन २४ को बैठकले समाधान निकाल्छ भन्ने मलाई लाग्छ।’
युवा नेता राजेन्द्र तिवारी, विश्लेषक अरूण सुवेदी, नेताहरू आनन्द त्रिपाठी, लीला दाहाल, मनहरि श्रेष्ठ, आनन्द सन्तोषी राई, यज्ञप्रसाद न्यौपाने लगायतले पनि धारणा राखेका थिए।